मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी




चौतारा, १७ चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७।५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए ।

आगामी बडादसैँसम्म राजधानीवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । हेलम्बुबाट ग्यालथुमखण्डमा दुई किमी र ग्यालथुमबाट सिन्धुखण्डमा २.१ किमी सुरुङ निर्माण गर्न बाँकी छ ।

सिन्धुखण्डको सुरुङमा कमसल भूभाग भेटिएकाले समस्या देखा परेको छ । सो खण्डमा कमजोर चट्टान भएको भनी ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकाले त्यसको अध्ययन भइरहेको हुँदा सम्भाव्यता देखिएमा वैकल्पिक उपाय अपनाइने दुवाडीले बताए ।

हाल चार स्थानबाट एकैसाथ दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेकामा अबदेखि दैनिक २५ देखि ३० मिटर खन्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९।५ किमी सुरुङ यसअघि नै सम्पन्न भइसकेको छ । रासस


क्लिकमान्डु