मूल्य नपाएपछि अलैंँची बिक्री भएन




गोरखा । उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् ।

गत वर्ष प्रतिकिलो दुई हजार ३०० रुपैयाँमा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ घटाउँदा अलैँची बिक्री हुन सकेको छैन । व्यापारीले यस वर्ष प्रतिकिलो एक हजार मूल्य तोकेपछि किसानले अलैँची बिक्री नगरी भण्डारण गरेका छन् ।

गत कात्तिक, मङ्सिरमा नै अलैंँची बिक्री भइसक्नुपर्ने भए पनि अहिलेसम्म उचित मूल्य नपाउँदा बिक्री भएको छैन । अलैंँची बिक्री नभएपछि किसान निराश भएका छन् ।

अजिरकोट गाउँपालिका हंशपुरका किसान शिवप्रसाद अधिकारी एक क्विन्टल अलैंची उत्पादन भए पनि बिक्री गर्न नपाएको बताए । अलैंची बिक्री गर्न ग्राहक खोज्दै छु, अहिलेसम्म भेट्टाएको छैन । गत वर्षसम्म घरमा नै व्यापारी आएर अलैंँची लैजान्थे, यस वर्ष व्यापारी पनि आएनन्,’उनले भने ।

प्रायः झापाका व्यापारीले हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोकलगायत गाउँमा उत्पादन भएको अलैंँची खरिद गरी बिक्री गर्न भारत लैजाने गरेका थिए । धानखेती मासेर अलैँंचीखेती गर्दै आएका किसान अलैँंचीको मूल्यमा गिरावट आएपछि मारमा परेका छन् । किसानले व्यक्तिगत, समूह र सहकारीमार्फत अलैँंची खेती गर्दैआएका छन् ।

जिल्लामा करिब पाँच सय किसान व्यावसायिक रुपमा अलैँंची खेतीमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठ अलैंँची खेतीका लागि किसानलाई बिरुवा खरिदमा अनुदान दिएको बताए । गत वर्ष गोरखाका किसानले अलैँची बिक्री गरेर सात करोड रुपैयाँ आम्दानी गरेका थिए ।

 


क्लिकमान्डु