सल्यानमा पनि बिकेन अदुवा, मूल्य नपाउँदा किसान चिन्तित




सल्यान । अदुवाको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् ।

गत वर्ष जिल्लाबाट १० करोड ४३ लाख २० हजार रुपैयाँ बराबरको अदुवा निकासी भएको थियो । तर यस वर्ष दुई करोड ८७ लाख पाँच हजाररुपैयाँ बराबरको अदुवा मात्र जिल्लाबाहिर निकासी भएको छ । उचित मूल्य नपाउँदा किसानले अदुवा बिक्री गरेका छैनन् ।

अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए उचित मूल्य नपाएका कारण अदुवा निकासीमा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए ।

गत वर्ष व्यापारीले अदुवा प्रतिकिलो ४० देखि ४५ का दरले खरिद गरेका थिए । यस वर्ष किसानले प्रतिकिलो १५ देखि रु २० सम्ममा बिक्री गरिरहेका छन् । जिल्ला अदुवा उद्यमी सङ्घका अध्यक्ष ज्ञानदेव घर्ती अदुवाको उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएका कारण किसान चिन्तित भएका बताए ।

गत वर्ष जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा २४ हजार ६२१ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष दुई हजार ५० हेक्टरमा अदुवा खेती गरिएकामा २५ हजार ५३२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय व्यावसायिक रुपमा अदुवा खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । माल्नेटा, ढारखानी, सिद्धेश्वरी, कोटमौला, दमाचौरलगायत ठाउँमा अदुवा खेती गरिन्छ । यहाँ उत्पादन हुने अदुवा दाङ, नेपालगन्ज, बुटवल तथा भारतमा बिक्री गरिन्छ । रासस


क्लिकमान्डु