राष्ट्र बैंकसँग बैंकहरुलाई पुनरकर्जा दिने पैसा सकियो



काठमाडौं । सिभिल बैंकले हप्ता दिनअघि १ अर्ब रुपैयाँ पुनरकर्जा माग गर्दै राष्ट्र बैंकमा आवेदन दियो । तर, पैसा नभएको भन्दै राष्ट्र बैंकले सिभिल बैंकलाई पुनरकर्जा दिएन ।

‘हामीले आवेदन दिएको हप्तादिन भयो बजेट नभएको भन्दै राष्ट्र बैंकले पुनरकर्जा दिएको छैन,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले क्लिकमाण्डूसँग भने ।

सिभिल मात्रै होइन दर्जन बढी बैंकहरुले अर्बौं रकम बराबरको पुनकर्जाको माग गर्दै आवेदन दिएका छन् । चैत लागेपछि बैंकहरुले पुनरकर्जा पाउन सकेका छैनन् ।

तत्कालका लागि पुनरकर्जा दिने बजेट सकिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । पौडेलका अनुसार पुनकर्जाका लागि राष्ट्र बैंकसँग साढे १० अर्ब रुपैयाँ बजेट भएको र अहिले त्यो सबै बजारमै छ ।

‘साढे १० अर्ब बराबरको पुनरकर्जा दिइसेका छौं, त्यो म्याचुअड भइसकेको छैन,’ प्रवक्ता पौडेलले भने,- ‘जसले गर्दा अहिले पुनरकर्जा दिन सक्ने अवस्था नभएको हो ।’

आगामी केही हप्ताभित्रै यसअघि प्रवाह भएको पुनरकर्जा म्याचुअड भएर फिर्ता आउने र त्यसपछि बैंकहरुलाई पुनरकर्जा दिइने उनले बताए ।

राष्ट्र बैंकले सरकारले तोकेका क्षेत्रहरुमा बैंकहरुलाई लगानी गर्न पुनरकर्जाको सुविधा उपलब्ध गराउँदै आएको छ । यसरी राष्ट्र बैंकबाट पुनरकर्जा लिएको रकम बैंकहरुले सहुलियत दरमा कर्जा लगानी गर्नुपर्ने शर्त छ ।

राष्ट्र बैंकबाट बैंकहरुले ६ महिनाका लागि मात्रै पुनरकर्जाको सुविधा उपयोग गर्न पाउँछन् ।


पुष्प दुलाल