कोरियाली कम्पनी हुण्डाइले भारतमा २ अर्ब डलर लगानी गर्ने



कोरियाको दोस्रो ठूलो गाडी कम्पनी हुन्डाइले भारतमा आगामी ५ बर्षभित्र २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनीले आफ्ना उत्पादनहरुको थप बिकास गर्न सो रकम खर्च गर्ने जनाएको छ ।

कम्पनीको अहिले भारतीय गाडी बजारमा १७ प्रतिशत हिस्सा छ । अगामी ५ बर्षभित्र यसलाई दोब्बर गर्दै बार्षिक १० लाख गाडी बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

अहिले हुन्डाइको ११ बिभिन्न उत्पादनहरु छन् । यी उत्पादनहरुमा निरन्तर ताजगीको आवश्यकता छ । ‘गाडीहरुको उत्पादन प्रक्रिया छोटो हुँदै छ । हरेक ४ बर्षमा गाडीका मोडलहरुको डिजाइन र प्रबिधि बिकसित गर्दै लैजानु पर्छ । हरेक पटक प्रबिधि अपग्रेड गर्दा ४०० देखि ५०० करोड भारुसम्म खर्च हुन्छ । त्यसैले हामीले हरेक बर्ष १५०० करोड भारु खर्च गर्नैपर्छ’, बरिष्ठ उपाध्यक्ष राकेश श्रिवास्तवले भने ।

हुन्डाइले हरेक बर्ष नयाँ मोडलको गाडी बनाउने लक्ष्य समेत लिएको छ । यसका लागि बार्षिक १००० करोड भारु खर्च हुन्छ । त्यसैले प्रत्येक बर्ष २५०० करोड भारु खर्च हुने श्रिवास्तव बताउँछन् । उनले सन् २०१८ र २०१९ मा ठूलो संख्यामा नयाँ मोडलका गाडीहरु बजारमा ल्याउन लागेको संकेत गरे ।

कम्पनीले हालै आफ्नो ‘इन्ट्रि लेभल’ ह्याचब्याक ‘आइ १०’ को उत्पादन बन्द गरेको छ । अहिले इन्ट्रि सेग्मेन्टमा ‘इयोन’ र ‘ग्राण्ड आइ १०’ रहेका छन् ।

‘हामी पक्कै पनि आइ १० को ठाउँमा नयाँ गाडी ल्याउनेछौं । मोडल र डिजाइन तयार भैसकेको छ,’ श्रिवास्तवले भने ।

अर्को उत्पादन भनेको सानो ‘एसयुभी’ हुनेछ । यसको मुल्य ‘हुन्डाइ क्रेटा’ को मुनी तोकिनेछ । ‘अहिलेका मानिस जिवनशैलीमा बिश्वास गर्छन, र पैसा खर्च गर्न तयार छन् । यी दुई ठूलो संख्यामा बन्न लागेका उत्पादनहरुले अहिलेका पुस्ताका मानिसहरुलाई आकर्षित गर्नेछ’, श्रिवास्तवले भने ।

हुन्डाइको अहिले चेन्नइ नजिकै पूर्ण क्षमतामा संचालन भइरहेका २ वटा कारखाना छन् । त्यसैले आगामी २ बर्षमा बार्षिक १० लाख गाडी बेच्नका लागि क्षमता पनि बृद्धि गर्नुपर्ने छ ।

श्रिवास्तवका अनुसार ठूलो संख्यामा उत्पादन थाल्नु अघि मार्केटिङका पुर्वाधारहरुको पनि बिकास जरुरी छ । ‘भोल्युममा उत्पादन गर्नका लागि मार्केटिङ र उत्पादन क्षमताको बृद्धि महत्वपूर्ण छ ।

मार्केटिङ अझ महत्वपूर्ण छ । बजारका धेरै खेलाडिहरुको ठूलो क्षमता छ, तर कमजोर मार्केटिङका कारण उनीहरुले धेरै गाडी बेची नाफा सुरक्षित गर्न सकेका छैनन्,’ उनले प्रष्ट्याए ।

कम्पनीका ४९० डिलरहरुलाई पनि नयाँ ‘लुक’ दिएको छ । सोरुमहरुको निलोबाट खैरो बनाइएको छ ।

‘हामी भारतमा घनिभूत रुपले काम गर्न चाहन्छौं । हामी डिलरहरुको संख्या थप्न चाहन्छौं, तर हालका डिलरहरुको बिक्रि नघटाइकन,’ उनले भने ।

कम्पनीले सन् २०१७ मा गत बर्ष भन्दा ६ प्रतिशतले बढी ५ लाख ३० हजार गाडी भारतमा बेच्ने लक्ष्य लिएको छ ।


पुष्प दुलाल