जनकपुरधामका परेवा भकाभक मर्न थाले



जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक सङ्ख्यामा मर्न थालेका छन् ।

विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा  पालेका परेवा विगत तीन दिनयता अत्यधिक सङ्ख्यामा मर्न थालेका हुन् ।

सुरुमा घाँटीमा समस्या देखापर्ने  र पछि सिथिल हुँदै परेवा मर्ने गरेको बताइन्छ ।

विवाहमण्डप र जानकी मन्दिर क्षेत्रमा एक दर्जनभन्दा बढी परेवा मरेको अवस्थामा फेला परेका छन् ।

मौसम परिवर्तन, रोग वा  विषादीयुक्त आहार खाएका कारण मर्ने क्रम अधिक देखिएको बारेमा अन्योलताको अवस्था छ । पशु कार्यालय  पनि यसबारेमा अनभिज्ञ रहेकाले परेवा मर्नुको कारण खुल्न सकेको छैन ।

सामाजिक अभियन्ता नथुनीलाल दासले आफूले पालेका ५२ वटा परेवामध्ये अधिकांश मरिसकेको बताए ।

कतिपयले विषादीयुक्त गहुँ फालेको अवस्थामा परेवाले खाएपछि  मर्ने समस्या उत्पन्न भएको अनुमान गरे पनि घरमा पालेका परेवासमेत मर्ने क्रम नरोकिनुले कुनै रोगको प्रकोप हुन सक्ने आशङ्का पनि गरिएको छ  ।

 


क्लिकमान्डु