नुवाकोटमा धान उत्पादन बढाउन अनुदान




नुवाकोट । चैतेधानको उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ ।

चालु आवबाट सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताए ।

धानको उत्पादन वृद्धि गराउन सरकारले यस वर्षदेखि अनुदानको कार्यक्रम ल्याएको हो । “किसानलाई अनुदान दिँदा उनीहरु धानखेती गर्न उत्साहित हुनेमा विश्वस्त छौँ, अनुदानका लागि सरकारले तोकेको मापदण्डमा खेती गर्नुपर्छ,” गैरेले भने ।

चामल आयात गर्ने बाध्यतालाई अन्त्य गराउन सो कार्यक्रम सञ्चालन गरिएको हो । बृहत्तर उत्पादन कार्यक्रमले जिल्लाका साविकका मदानपुर, थानसिङ, थानापति, खानीगाउँ, चौघडा, गणेशस्थान, कविलाश, रालुका, नर्जामण्डपलाई समेटिएको छ । एक सय हेक्टर क्षेत्रफलका लागि प्रतिहेक्टर ५ हजारको दरले हजारका दरले प्रोत्साहन रकम दिन थालिएको हो ।

रकम लिनका लागि कृषि सहकारी तथा समूहमार्फत आउनु पर्ने र प्रोत्साहन रकम प्राप्त गर्नका लागि धान लाइनमा मिलाई रोप्नुपर्ने र बाली बिमा गर्नुपर्ने छ । लाइनमा रोप्नका लागि कृषि विकास कार्यालयले प्राविधिक सहयोग तथा बाली बिमाको व्यवस्था गरेको छ । बिमाले किसानलाई आफूले लगाएको धानमा कुनै कारणबस क्षति हुनपुगेमा क्षतिपूर्ति उपलब्ध गराउन मद्दत पुग्नेछ ।

जिल्लामा छ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैतेधान लगाइन्छ । चैतेधानको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन रहेको छ । जिल्लामा विशेष गरी ताइचुङ, सिएच ४५, कञ्चन, खुमल ११, जिरे मसिनो जातको धान लगाउने गरिएको छ । रासस


क्लिकमान्डु