तिङ्लावासीको आन्दोलनले सगरमाथा जाने पर्यटक समस्यामा, उपभोग्य वस्तुको पनि अभाव



सोलुखुम्बु । तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा  दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका  तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् ।

यस गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्नेमा माग  विपरीत नेचासल्यान गाउँपालिकामा समावेश गरेको भन्दै तिङ्लावासीले गएको शुक्रबारदेखि सडक बन्द गरेका हुन् । दर्जनौँ स्थानमा रुख ढाल्नुका साथै ढुङ्गा थुपारेर सडक अवरुद्ध गरेका स्थानीयवासीले सडकमै धर्ना दिइरहेका छन् ।

साविकको तिङ्ला गाविसभित्र पर्ने सडकखण्डमा अवरोध पुर्याएपछि जिल्लाबाट राजधानी, तराईका जिल्ला जाने तथा जिल्लामा आउने यात्रु साविकको केरुङ गाविसको पत्तालेदेखि चार घन्टाभन्दा बढीको उकालो ओरालो हिँडी दूधकुण्ड नगरपालिकाको साल्मेसम्म पुग्नु परेको छ ।

सडक बन्दसँगै स्थानीयवासीले व्यापारका लागि सदरमुकाम ल्याउने कुनै पनि वस्तु बोकेर ल्याउनसमेत दिएका छैनन् । सडक यातायातहुँदै सगरमाथा क्षेत्र हिँडेका पर्यटक पनि हिँडेरै आवतजावत गर्न बाध्य भएका छन् ।

पाँच दिनदेखि सडक बन्द हुनाका साथै बोकेरसमेत सामान ल्याउन नपाउँदा सदरमुकाममा उपभोग्य वस्तुको अभाव सुरु भएको भन्दै उद्योग वाणिज्य सङ्घ, सोलुखुम्बु शाखाले सडक बन्दको विकल्प खोज्न अनुरोध गरेको छ ।

बन्द खुलाउन गत शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अहिलेसम्म वार्ता पनि भएको छैन । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे उनीहरुको माग जिल्ला तहबाट पूरा नहुने र केन्द्रमा जानकारी पठाइसक्दा पनि बन्दकर्ताले बन्द फिर्ता नलिएको बताउँछन् । केही समय पर्ख र हेरको अवस्थामा रहेको र बन्द लम्बिएमा बल प्रयोग गरी सडक खुलाउने प्रजिअ पाण्डेले बताए ।

आन्दोलनकारी भने आफूहरुको माग पूरा नहुन्जेलसम्म कुनै पनि हालतमा बन्द फिर्ता नहुने बताउँछन् । सङ्घर्ष समितिका संयोजक बालकुमार कार्की भन्छन्, ‘हामी माग पूरा नभई सडक छाड्दैनौँ, आश्वासनले मात्र हुँदैन व्यवहारमा चाहिन्छ।’ तर सीमाङ्कन परिवर्तनको कुरा तत्काल असम्भव रहेको सम्बद्ध व्यक्तिको भनाइ छ ।


क्लिकमान्डु