जोगमाई हाइड्रोपावरको परीक्षण उत्पादन सुरु




इलाम । इलामको जोगमाई गाउँपालिकास्थित निर्माण गरिएको जोगमाई खोला हाइड्रो परियोजनाले विद्युत्को परीक्षण उत्पादन सुरु गरेको छ ।

७.६ मेगावाट क्षमताको सो परियोजनाले बिहीबारदेखि आफ्नो परीक्षण उत्पादन सुरु गरेको हो । निर्माण सम्पन्न गरेर सबै काम सकिएकाले परीक्षण उत्पादन सुरु गरेका छौ, अर्को सातादेखि विद्युत्को व्यावसायिक उत्पादन थाल्ने जोगमाई खोला हाइड्रो परियोजनाका नियन्त्रक हरिबाबु न्यौपानेले बताए ।

परीक्षण उत्पादनका क्रममा यस आयोजनाले दुई दशमलव दुई मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार चैत मसान्तभित्रमा आयोजना पूरा गर्नुपर्ने थियो । दुई सय ७० पोलमार्फत ११ किलोमिटर दूरीको १३२ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण सकिएपछि चाँडै नियमित विद्युत् उत्पादन गरिने नियन्त्रक न्यौपानेले जानकारी दिए ।

साविकको नयाँबजार र नामसालिङ गाविसमा विद्युत् संरचना निर्माण गरिएको छ । विद्युत् आयोजनाका लागि एक हजार ५०० मिटर सुरुङ निर्माण गरिएको छ भने एक हजार ८३५ मिटरको पेनस्टक पाइप विछ्याइएको छ ।

उक्त आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा प्रभु, कैलाश र विभोर विकास बैंकले १ अर्ब ५० करोड लगानी गरेका छन् । रासस


क्लिकमान्डु