रुपन्देही गहुँको बीउ र माछामा आत्मनिर्भर




रुपन्देही । स्रोत संरक्षण कृषि प्रविधि र उन्नत बीउ प्रयोग गर्दा यस वर्ष जिल्लामा गहुँको बीउ र माछाको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।

उत्पादनमा आएको वृद्धिसँगै गहँको बीउ र माछा उत्पदानमा रुपन्देही आत्मनिर्भर बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

माछाका लागि रुपन्देहीलाई नमुना जिल्लाका रुपमा विकास गर्ने योजना अगाडि बढाएका छौं, जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले बताए । उनले जिल्लाको छपिया क्षेत्रलाई माछाको पकेट क्षेत्रको रुपमा घोषणा गरी त्यसै अनुरुप विकास गर्ने कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएको जानकारी दिए ।

जिल्लामा उत्पादित जिउँदो माछा जिल्लाको माग पूरा गरी अन्य जिल्लामा समेत निर्यात गर्न थालिएको बताउँदै उनले पछिल्लो समयमा छपिया क्षेत्रमा ठूल्ठूला कृषि फार्मसमेत खुल्ने थालेका बताए ।

त्यस्तै यहाँ उत्पादन भएको गहुँको बीउ पनि अन्य जिल्लामा निर्यात हुन थालेका छन् । नवलपरासी, कपिलवस्तु, पाल्पा, तनहुँलगायतका जिल्लामा गहुँको बीउ निर्यात हुने थालेको वरिष्ठ कृषि विकास अधिकृत सापकोटाले बताए ।

रुपन्देहीमा विजय, भृकुटी, गौतम, एनएल, २९७ लगायतका गहुँका बीउ उत्पादन हुने गरेका छन् । अन्यका तुलनामा यी बीउको उत्पादकत्व राम्रो र रोग प्रतिरोधात्मक शक्ति बढी भएकाले यहाँ उत्पादित बीउ अन्य जिल्लामा समेत लोकप्रिय हुने भएकाले यसको निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा दुई वटा सहकारी र तीन वटा निजी कम्पनीले वार्षिक दुई हजार ९०० मेट्रिक टन गहुँको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । रुपन्देहीमा ४० हजार किसान गहुँ खेतीमा संलग्न छन् । यहाँको ३० हजार हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । त्यसका लागि तीन हजार ७०० टन बीउ आवश्यक पर्छ । जसबाट प्रतिहेक्टर उत्पादन ३ दशमलव २ टन हुने गरेको छ । जिल्लामा ८०० टन बीउ मात्र अनुदानमा आएको थियो ।

अनुदानको बीउ ४० किलोलाई रु एक हजार ३६० पर्छ भने बाहिर यसको मूल्य रु दुई हजार पर्छ । जिल्ला कृषि विकास कार्यालयकाअनुसार रुपन्देहीमा जिल्लामा जलाशय क्षेत्र ८६५ हेक्टर छ भने जिल्लामा माछापालक कृषक एक हजार ९०० जना रहेका छन् । व्यावसायिक रुपमा माछापालन गरेका पोखरीको सङ्ख्या जिल्लामा तीन हजार ३९० वटा छन् ।

अघिल्लो आवमा तीन हजार ५१० मेट्रिक टन माछा उत्पादन भएको थियो । यसरी माछा उत्पादन हुने दर जिल्लामा प्रतिहेक्टर चारदेखि पाँच टन हुने गरेका छन् । त्यस्तै जिल्लामा माछापालक समूह ४० वटा छन् । रासस


क्लिकमान्डु