पशु बीमा गर्ने कृषकको सङ्ख्या बढ्दै



पर्वत। आफूले पालेका पशुको बीमा गर्ने कृषकको सङ्ख्या  बढ्दै गएको हो ।

सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बीमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार हालसम्म जिल्लामा साढे छ हजार पशुको बीमा भएको छ । वरिष्ठ पशु विकास अधिकृत सुधीर थापाकाअनुसार गाई सात सय ५६,भैँसी एक सय २७,बाख्रा तीन हजार एक सय १२,बङ्गुर दुई सय १७ वटाको बीमा भएको छ ।  चालु आवमा भने हालसम्म दुई सय ७४  पशुको बीमा भइसकेको छ । जिल्लामा झन्डै ६०० पशुपालक कृषक छन् ।

गत वर्षसम्म पशुबीमासम्बन्धी ज्ञान नभएका कारण जिल्लामा यसको सङ्ख्या नबढेको भए पनि क्रमशः बीमा गर्न आउनेहरु बढ्न थालेका छन् । पछिल्लो समयमा गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुखुरापालन गर्ने कृषकको सङ्ख्यासमेत बढेको छ । व्यावसायिक रुपमा फार्म तथा सहकारीतर्फ लाग्ने युवाको सङ्ख्या पनि बढेको छ ।

बीमा गर्नुपर्छ र बीमा गर्दा सरकारले राहत दिन्छ भन्ने कुराको जानकारी नभएकाले यसतर्फ कृषक बढी आकर्षित नभएको ठम्याइ कार्यालयको छ । ‘पशु बीमा गर्दा व्यावसायिक रुपमा पशु तथा पक्षीपालन गर्दै आएका कृषकको जोखिम न्यूनीकरण हुन्छ तर व्यावसायिक कृषक नै यसतर्फ आकर्षित भएका छैनन्,’ कार्यालयका पशु चिकित्सक डा विकास श्रेष्ठले भने, ‘व्यावसायिक काम गर्दा जोखिम बढी हुने भएकाले पनि बीमा गर्नु अनिवार्य भइसकेको छ ।’

सरकारले २०६९ साल माघदेखि पशु र कृषिपालन व्यवसायमा लाग्ने कृषकका लागि राहत र जोखिम घटाउन बीमा लागू गरेको थियो । सुरुका वर्षमा बीमा गर्दा लाग्ने शुल्कमा सरकारले ५० प्रतिशत र कृषकले ५० प्रतिशत प्रिमियम बुझाउने व्यवस्था गरे पनि प्रभावकारी नभएकाले गत वर्षदेखि सरकारले नै ७५ प्रतिशत प्रिमियम व्यहोर्न थालेको छ ।

कृषकले न्यून शुल्क तिरेर बीमा गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन कार्यालयको आग्रह छ । पशु बीमा हरेक वर्ष गर्नुपर्ने भएकाले केही झन्झटिलो हुँदा पनि कृषक यसतर्फ कम आकर्षित भएको श्रेष्ठको भनाइ छ । तर पशुधनको क्षति हुँदा बीमा नगर्ने कृषक मर्कामा पर्ने भएकाले हरेक पशुको बीमा गर्नु अनिवार्य भएको सुझाव उनले दिए ।

 


क्लिकमान्डु