कास्की र सुनसरीका कुखुरामा बर्डफ्लु भेटियो, चितवनमा भने उच्च सतर्कता



चितवन। कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ ।

यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।

काठमाडौँ, पोखरालगायत सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी  हेटौँडालगायत क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उनले बताए ।

कार्यालयले अन्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित सङ्घसङ्गठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको छ । दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उनको भनाइ छ । सङ्घ सङ्गठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ जसमा फार्म प्रवेश गर्दा बाहिर लगाइएको कपडा नलगाउन भनिएको तथा प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ ।

सेढाईंका अनुसार भित्र छिरेपछि गाडी र मानिसलाई खर्साेलिङ वा पोटासियम परम्याग्नेट मिसाइएको पानी छर्केर निर्मलीकरण गर्न भनिएको छ । त्यसैगरी खोरको ढोकामा पनि पानीको तलाउ बनाई खुट्टाले टेकेर मात्रै फार्ममा प्रवेश गर्न लगाइएको उनले जानकारी दिए । फार्ममा अन्य पशुपक्षी जान नदिन कडाइ गर्न लगाइएको तथा कुखुरा प्रवेश गर्ने र बाहिरिने फरक फरक बाटो प्रयोग गर्न लगाइएको छ । फार्म र घरसँगै नराख्न र फार्ममा नियमित चुना छर्कन अनुरोध गरिएको छ ।

कार्यालयले जिल्लाका १४ सेवा केन्द्रमार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको छ । प्रजिअ अध्यक्ष रहने जिल्ला प्राविधिक समितिको बैठक बसेर विशेष उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताए ।

शङ्कास्पद देखिएका १० नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । कम क्षति पुर्याउने एच९एन२ फेला पर्न सक्ने भएकाले बढी हानिकारक एच५एन१ भने अहिलेसम्म नभेटिएको जानकारी उनले दिए । कुखुरा धेरै मरेका,अन्डा कम पारेका र शङ्कास्पद देखिएका कुखुराको नमुना सङ्कलन गरी तत्काल परीक्षण भइरहेको बताइएको छ ।

नेपालमा एक सातामा एक लाख ३० हजार लेयर्स चल्ला र २२ देखि २५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएको छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बर्डफ्लु भित्रिन नदिन व्यवसायीलाई उच्च सतर्कता अपनाउन भनिएको बताए ।  जैविक सुरक्षामा ध्यान दिए डराउनु नपर्ने उनको भनाइ छ ।

देशभर दैनिक २२ लाख अन्डा उत्पादन हुँदै आएको छ । अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले फार्ममा जैविक सुरक्षालाई विशेष ध्यान दिइएको बताउँदै पुरानो पेटी र क्रेट प्रयोग नगरिएको दाबी गरे।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले आफ्नै कारणले दुःख पाउने हुँदा हेलचक्र्याइँ नगर्न सबै किसानलाई आग्रह गरेका छन् ।

नेपालमा दैनिक आठ लाख ५० हजार किलो तयारी मासु खपत हुँदै आएको तथ्याङ्क छ । कुखुराजन्य क्षेत्रमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन् जसको ५० प्रतिशतभन्दा बढी लगानी चितवनमा छ ।


क्लिकमान्डु