सल्यानमा १११ वटा मतदान केन्द्र तोक्न सिफारिस



सल्यान। स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएको छ ।

संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भूगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न निर्वाचन आयोगमा सिफारिस पठाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए।

भूगोल, इलाका र क्षेत्रलाई मिलाउँदा २७ वटा मतदान केन्द्र हटाउन आवश्यक भएकाले जिल्लामा क्रियाशील राजनीतिक दलसहितको बैठकले १११ वटा केन्द्र बनाउने निर्णय गरेर सिफारिस गरिएको उनले उल्लेख गरे ।

सिफारिसअनुसार थोरै मतदान केन्द्र ढोरचौर गाउँपालिकामा छ भने सबैभन्दा धेरै वनगाडकुपिण्डे नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै गाउँपालिकातर्फ कपुरकोटमा १०, कालीमाटीमा ११, कुमाखमालिकामा १०, छत्रेश्वरीमा नौ, त्रिवेणीमा आठ र दार्मामा नौ वटा केन्द्र ताकिएको र  नगरपालिकातर्फ बागचौरमा १४ र शारदामा १६ वटा केन्द्र तोकिएको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका बनाएको छ । जिल्लामा मतदाताको सङ्ख्या एक लाख २२ हजार, ४२५ मा पुरुष ६१ हजार २१९ र महिला ६१ हजार २०६ छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी तयारीलाई समेत तीव्र बनाएको छ । कार्यालयले आवश्यक जनशक्ति विवरण तयार पार्ने, सरोकारवालासँग समन्वयन गर्नेलगायतका आन्तरिक तयारीका कामलाई तीव्र बनाएको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा भाग लिन यहाँ  १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

 


क्लिकमान्डु