प्यूठान। स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सातबुँदे घोषणापत्र जारी गरेको छ ।
नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको समन्वयमा सङ्घको प्युठान शाखाद्वारा शनिबार स्वर्गद्धारीमा आयोजना गरिएको पर्यटन प्रवद्र्धनसम्बन्धी एकदिने अन्तक्र्रिया तथा प्रचारप्रचार कार्यक्रममा स्वर्गद्वारी क्षेत्र विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यसहित व्यवसायीद्वारा यस्तो घोषणापत्र जारी गरिएको हो ।
स्वर्गद्वारी क्षेत्रमा भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा प्रसादको उपलब्धतालगायतका समस्या रहेको उल्लेख गर्दै व्यवसायीले सुविधा सम्पन्न होटल तथा लज बनाएर स्वदेशी÷विदेशी पर्यटकलाई सुविधा दिन आफूहरु तयार रहेको जनाएका थिए ।
कार्यक्रममा होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले स्वर्गद्वारी क्षेत्रमा संरचना निर्माणको अनुमति दिइए सांस्कृतिक तथा धार्मिक मूल्य मान्यताअनुरुप व्यवसाय सञ्चालन गरेर पर्यटन विकासमा योगदान दिने विश्वास दिलाए।
पर्यटन व्यवसायलाई केवल व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक तथा धार्मिक सेवाका लागि पनि आफूहरुले उपयोग गर्न चाहेको उहाँको भनाइ थियो ।
स्वर्गद्वारीस्थित बाल तपस्वी वेद विद्यालय गुरुकुलम्का अध्यापक शालिकराम रिजालले आश्रम तथा तपोभूमि क्षेत्रको ऐतिहासिक,आध्यात्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै आर्थिक अभावले गाईपालनमा समस्या भएको बताए ।
यसैगरी,नेकपा एमाले क्षेत्र नं १ का संयोजक नेत्रबहादुर रोकायले स्वर्गद्वारीको जग्गामा गरिएको अतिक्रमण हटाउन सरकारसँग माग गरे ।
सङ्घका प्युठान शाखाका अध्यक्ष चन्द्रलाल न्यौपानेले समग्र स्वर्गद्वारी क्षेत्रको विकासका लागि राज्य तथा निजी क्षेत्रबाट लिइनुपर्ने पहलका सम्बन्धमा अवधारणा पत्र प्रस्तुत गर्दै उपयुक्त व्यावसायिक वातावरण मिलेमा आफूहरु स्वर्गद्वारी क्षेत्रको विकास गर्न जस्तोसुकै योगदान दिन पनि तयार रहेको स्पष्ट पारे ।
कार्यक्रममा स्वर्गद्वारी क्षेत्र विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यसहित सातबुँदे प्युठान घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा स्वर्गद्वारी पर्यटन विकास समिति गठन गरी स्वर्गद्वारी विकास गुरुयोजना कार्यान्वयन गर्नुपर्ने, व्यवस्थित र आधुनिक धर्मशाला निर्माण गर्नुपर्ने, भिडरी–स्वर्गद्वारी सडकखण्डको स्तरोन्नति गर्नुपर्ने, स्वर्गद्वारीको नाममा रहेका देशका विभिन्न ठाउँका जग्गाको उचित व्यवस्थापन गर्नुपर्ने, स्वर्गद्वारीमा रहेको गौशालाको वैज्ञानिक व्यवस्थापन गरी गौ आरक्षण केन्द्रको रुपमा विकास गर्नुपर्नेलगायतका योजना समेटिएका छन् ।
कार्यक्रममा उपस्थित बुद्धिजीवी, विभिन्न दलका प्रतिनिधि, पत्रकारले स्वर्गद्वारीका लगि एकीकृत पहलको आवश्यकतालाई औँल्याउँदै विगतमा बनेको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
प्रतिक्रिया