तीन महिनामा १४ सय बढीले स्वास्थ्य बीमा गराए



बैतडी। सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदका अनुसार पुसको पहिलो सातादेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा १ हजार ४ सय ६१ जनाले नाम दर्ता गराएका छन् । ‘स्वास्थ्य बीमा गराउन जिल्लाभर दर्ता सहयोगी खटाएका छौं,’ साउदले भने, ‘स्वास्थ्य बीमा गराएकामध्ये ५७ जनाले सेवा लिइसकेका छन् ।’

यसमध्ये ४५ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट, ३ जनाले पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट र ९ जनाले डडेल्धुरा उपक्षेत्रीय अस्पतालबाट सेवा लिएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारले वार्षिक रुपमा दुई हजार ५ सय रुपैयाँ तिरेमा ५० हजार रुपैयाँ बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ । पाँचजना भन्दा बढी भएमा ४ सय २५ का दरले थप रकम तिरी अधिकतम १ लाख रुपैयाँसम्मको उपचार खर्च पाउन सक्ने प्रावधान रहेको छ ।

बैतडीमा स्वास्थ्य बीमाबारे जानकारी गराउन ७० जना दर्ता सहयोगी रहेका छन् । स्वास्थ्य बीमा गराइसकेका बैतडीका स्थानीय बासिन्दाले जिल्लाको हकमा जिल्ला अस्पताल पाटन, प्राथमिक स्वास्थ्य केन्द्र केशरपुर, स्वास्थ्य केन्द्र गोकुलेश्वर र उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट सेवा लिनसक्ने बताइएको छ ।

सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष कैलाली,बाग्लुङ र इलामबाट बीमा कार्यक्रम सुरु गरिएको थियो ।


क्लिकमान्डु