एसियाली आर्थिक विकासको बाधक भुमन्डलीकरण : प्रधानमन्त्री दाहालको बिचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन् ।
एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उनले भने ‘समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता, व्यवधान नभई सम्बन्ध सेतुको विस्तार, संरक्षणवादको साटो सहकार्य र निर्भयपूर्वक स्वतन्त्र व्यापार आवश्यक भएको छ ।’
भूमण्डलीकरणको एसियाली ढाँचालाई मूर्तरुप दिन हामीले सहयोग र सहकार्यको खाका तयार गर्नुपर्छ, जसले विचार तथा व्यापार सम्पर्कलाई निर्वाध प्रवाहमा टेवा दिने र सबै पक्षलाई समान लाभ हासिल हुनेछ ।
‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ विषयक सो सम्मेलनमा प्रधानमन्त्री दाहालले समृद्धिको साझा एसियाली लक्ष्य प्राप्तिमा एसियाका नेतामा दूरदृष्टि, विशाल हृदय र साहस रहेकामा आफू विश्वस्त रहेको बताए ।
भूमण्डलीकरण र स्वतन्त्र व्यापार विकासको बाहक भएको तथा २१ औं शताब्दी एसियालीको शताब्दी भएको बताउँदै उनले भने, ‘भूमण्डलीकरणको एसियाली ढाँचालाई मूर्तरुप दिन हामीले सहयोग र सहकार्यको खाका तयार गर्नुपर्छ, जसले विचार तथा व्यापार सम्पर्कलाई निर्वाध प्रवाहमा टेवा दिने र सबै पक्षलाई समान लाभ हासिल हुनेछ ।’
प्रधानमन्त्री दाहालले एसियाका धेरै मुलुक आजसम्म पनि भूमण्डलीकरणबाट लाभान्वित हुन नसकेको तथा वस्तु र सेवाको निर्वाध प्रवाह पनि हुन नसकेकाले ती राष्ट्र विकासका दृष्टिले पछि परेको बताउँदै अवसरमा समानतासँगै भूमण्डलीकरणका अवसरबाट सबैमा लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
बितेका केही दशकमा भूमण्डलीकरण अन्तर्राष्ट्रिय व्यापारले विकासशील एवम् विकसित मुलुकका जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याएको उल्लेख गर्दै उनले सन् १९९० मा ४७ प्रतिशत रहेको चरम गरिबीलाई १४ प्रतिशतमा झारेको बताए ।
हाम्रो विश्वलाई समृद्धशाली बनाउन स्वतन्त्र व्यापार र भूमण्डलीकरणको महत्व सर्वस्वीकार्य निर्विवाद छ तर धेरैले त्यस प्रक्रियामा आफूहरु समाहित हुन नसकेको अनुभूत गरेका छन्, भूमण्डलीकरणको परिणामस्वरुप धेरैले आफूहरु प्रभावहीन भएको गुनासो पनि गरेको भन्दै उनले भने ‘भूमण्डलीकरणको प्रतिफल समान ढङ्गले बाँडफाँट हुन सकेको छैन् ।’
नेपालजस्ता अल्पविकसित, भूपरिवेष्टित राष्ट्रका लागि विश्वबजारसम्म भन्साररहित पहुँच विस्तार, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरुले सघाउनुपर्नेमा उनले जोड दिए । नेपालले धेरै राजनीतिक उपलब्धि हासिल गरी आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ । ‘द्रुत आर्थिक वृद्धि र विकास हाम्रो अहिलेको प्राथमिकता हो’ प्रधानमन्त्रीले भने ।
नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेकाले जलविद्युत्, पूर्वाधार विकास र पर्यटनजस्ता लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्यमी व्यापारीलाई आग्रह गरे । नेपालको बढ्दो बजार र एसियाका विशाल अर्थतन्त्र भएका दुई ठूला छिमेकीबीचको अवस्थितिले हाम्रो मुलुकलाई आर्थिक गतिविधिको मुख्य केन्द्र बनाउन सकिने अपार सम्भावना रहेको छ भन्दै उनले त्यसमा सहयोग गर्न अपिल गरेका हुन् ।