थप विद्युत् उपलब्ध गराइदिन भारतसँग आग्रह




काठमाडौँ । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाललाई थप विद्युत् उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गरेका छन् ।

राजदूत उपाध्यायले आज भारतीय विदेश मामिला राज्यमन्त्री एमजे अकबरसँग शिष्टाचार भेटवार्ता गरी थप विद्युत् उपलब्ध गराउन आग्रह गरेका हुन् ।

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको कुशाहा– कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

ती प्रसारण लाइनमार्फत थप ५०–५० मेगावाट विद्युत् आयातको तयारीमा नेपाल सरकार रहेको छ । भारत सरकारले आधिकारिक निर्णय नगर्दा विद्युत् आयात हुन सकेको छैन । राजदूत उपाध्यायले थप विद्युत् उपलब्ध गराउने विषयमा कुराकानी गरे ।

राजदूत उपाध्यायले राज्यमन्त्री अकबरसँग भारत सरकारको सहयोगमा अगाडि बढिरहेको आयोजनाको शीघ्र कार्यान्वयनका विषयमा समेत कुराकानी गरेका थिए ।

विशेष गरी सडक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राजदूत उपाध्यायले नेपाली सामान निर्यात गर्दा लाग्दै आएको अतिरिक्त शुल्क, ड्यामरेज चार्ज ठाउँ ओगटेबापतको शुल्क तथा जुट र जुटजन्य सामग्रीमा लाग्दै आएको शुल्क हटाउन समेत राज्यमन्त्री अकबरसँग आग्रह गरेका थिए ।

नेपाली राजदूतको आग्रहमा राज्यमन्त्री अकबरले समस्या समाधानमा भारत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।


क्लिकमान्डु