लाप्राकमा नमुना बस्ती निर्माण गर्न एनआरएनएलाई स्वीकृति



एनआरएनएले गोरखाको लाप्राकमा निर्माण गर्न लागेको घरको नमुना

काठमाडौं । भूकम्प पुनः निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई स्वीकृति दिएको छ ।

प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा सङ्घलाई नमुना बस्ती निर्माण गर्ने स्वीकृति दिएको हो ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिब ६०० नमुना घरका लागि भूकम्प प्रतिरोधी डिजाइनमा केही परिमार्जन गरी पेस गर्ने सर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको हो ।

गैरआवासीय नेपाली सङ्घले गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि ६०० नमुना घर बनाउने घोषणा गरेको थियो । करिब ३५ करोडको लागत अनुमान गरिएको लाप्राक नमुना बस्ती आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्ने संघको योजना छ ।

यसैबीच प्राधिकरणका कार्यकारी सदस्य पराजुली संयोजक रहेको समितिले मापदण्ड नपुर्याइ बनाइएका घरलाई प्रवलीकरण गरी तोकिएको मापदण्ड पुर्याउने गरी बाटो खोलिदिएको छ ।

समितिको बैठकले काठ, रड, ग्याबिन तार र कङ्क्रिट पोलले बाँधी मापदण्ड नपुगेका घरलाई भूकम्प प्रतिरोधी बनाउन सकिने विधि पारित गरेको छ ।

समितिले पारित गरेको प्रक्रियाअनुसार अब निर्माण भएका घरलाई स्थलगत रुपमा खटिएका इन्जिनियरले नम्बर दिने छन् । सबै प्रक्रिया पुगेका घरले १०० नम्बर पाउने छ । प्रक्रिया नपुगेमा त्यसै अनुसार नम्बर घट्ने छ ।

भूकम्प प्रतिरोधी घरका लागि ८५ अङ्क पाउनुपर्ने समितिले जनाएको छ ।


क्लिकमान्डु