सकियो स्मार्ट लाइसन्स, सरकारले एडिबीसँग सहयोग माग्यो




काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड अभाव भएपछि सरकारले एडीबीसँग सहयोग मागेको छ । स्टक स्मार्ट कार्डले महिनादिन नपुग्ने भएपछि सरकारले फास्ट्र्याकमार्फत कार्ड छपाइ गरी उपलब्ध गराइ दिन एडीबीलाई पत्रचार गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बागमती अञ्चल यातायात कार्यालयमा लाइसेन्सकै लागि आवेदन दिएका ४४ हजारभन्दा बढी सेवा ग्राहीको कार्ड छाप्ने कार्य पाइपलाइनमा रहेको जानकारी दिए ।

तर, विभागसँग अहिले पाइपलाइन रहेका बाहेक स्टकमा १२ हजारभन्दा बढी काड छैन । यी कार्ड वितरण भएसँगै विभागका कार्ड अभाव आउने निश्चित रहेको भट्टराई बताउँछन् । कार्ड सकिएपछिको व्यवस्थापन गर्न आफूहरूले एडीबीलाई ८० हजार काड छपाइ गरी सहयोगका लागि पत्रचार गरेको उनले बताए ।

एडीबीले पनि विभागको पत्र पाउनासाथ कार्ड छपाइको प्रक्रिया सुरु गरेको जानकारी आफूले पाएको उनले बताए । ८० हजार कार्ड आएको अवस्थामा असार महिनासम्म थेग्न सकिन्ने उनको भनाइ छ । त्यसपछिका लागि भने विभागले चैत महिनाभित्र कार्ड छपाइका लागि टेन्डर गर्ने गरी काम थालिएको छ ।

एडीबीले समयमै कार्ड उपलब्ध गराउन नसके वैशाखदेखि अभाव हुने उनको भनाइ छ ।

विभागले २०७२ मंसिरदेखि पहिलो चरणमा बागमती यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । भारतको मद्रास सेक्युरिटी कम्पनीले उपलब्ध गराएको एक लाख ६० हजार कार्ड पुनः दोस्रोपटक मद्रास पिन्टरले नै दिएको कार्डबाट काम चलाउँदै आएको थियो ।


पुष्प दुलाल