नेप्सेमा उत्साह कायमै, कारोबार लगभग एक अर्ब



काठमाडौं । साताभर नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसूचकमा उत्साह देखिएको छ । साताभर नेप्से परिसुचकमा देखिएको उत्साहजन वृद्धि बिहीबार पनि कायम रहेको छ ।
कारोबारको अन्तिम दिन नेप्से परिसुचक ४.९६ अंकले बढेर १४ सय ८६.०४ मा अडेको छ । मंगलबार र बुधबारको तुलनामा बिहिबार कारोबार रकममा केही कमी देखिएको छ ।

बिहिबार दिनभर नेप्सेमा उतारचढाव देखिएको छ । १४ सय ८० बाट शुरु भएको नेप्से १४ सय ६९ पुगेर फेरी १४ सय ९५ सम्म पुगेर अन्तत १४ सय ८६ मा बन्द भएको छ ।
बिहिबार १ सय ४३ कम्पनीका २० लाख ६५ हजार ८ सय ४० कित्ता सेयर किनबेच भएका छन् । ९५ करोड २२ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार होटेल समुह र अन्य समुह बाहेक सबै समुहका उपसूचकहरु बढेका छन् । होटेल समुह १३.५६ र अन्य समुह ५.५ अंकले घटेका छन् । त्यस्तै बैकिङ समुह ५.०८, बिकास बैंक समुह ८.९५, जलबिद्युत समुह ४६.०१, बित्त समुह २.८६, बीमा समुह ९.५९ र उत्पादन समुह ३.०१ अंकले बढेका छन् ।

३० प्रतिशत हकप्रद जारी गर्न लागेको सानिमा बैंकको सबैभन्दा बढि ५ करोड ७ लाख ८२ हजार रुपैंयाँको कारोबार भएको छ । त्यस्तै ८० प्रतिशत हकप्रद गर्न लगेको नेपाल बंगलादेश बैंकको ४ करोड ७४ लाखको कारोबार भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको ४ करोड ४९ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी ४ करोड रुपैंयाँको कारोबार नघाउनेमा नेशनल हाइड्रो र एनसिसि बैंक रहेका छन् । उनीहरुले क्रमशः ४ करोड २७ लाख र ४ करोड १५ लाख रुपैंयाँको कारोबार गरेका छन् ।

बिहिबार ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । रिडी हाइड्रो, मिथिला लघुबित्त, आइएलएफसी लघुबित्त, गुडविल फाइनान्स, अपि पावर, सेती फाइनान्स, जेबिल्स फाइनान्स र भार्गभ बिकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।

यसैगरी सबैभन्दा बढि गुमाउनेमा सिन्धु बिकास बैंकका लगानीकर्ता रहेका छन् । उनीहरुले ७.११ प्रतिशतले गुमाएका छन् । रिलाएबल माइक्रोफाइनान्स र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डका लगानीकर्ताले पनि ७.००५ र ५.२० प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल