गगनको अर्को तयारी : महानगरका सबै वडामा यौनदेखि योगासम्मको शिक्षा



काठमाडौं । गगन थापा नेतृत्वको स्वास्थ्य मन्त्रालयले काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयहरुमा यौनदेखि योगासम्मको शिक्षा दिने केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुर्याएको छ ।

काठमाडौं महानगरको सहकार्यमा यस्तो केन्द्र स्थापना गर्न लागिएको हो । महानगरभित्र समुह, समिति, क्लब जस्ता निकायका सार्बजनिक भबन निशुल्क प्रयोग गरेर ‘जनता स्वास्थ्य प्रबद्र्धन केन्द्र’ स्थापना गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

चालु आर्थिक बर्षभित्र नै महानगरमा ११ वटा र बुढानिलकण्ठ नगरपालिकामा २ वटा केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘नगरपालिकासँगको सहकार्यमा केन्द्र स्थापना गर्न लागिएको हो, काठमाडौं महानगरपालिका भित्र ११ र बुढानिलकण्ठ नगरपालिकाका २ ठाँउको पहिचान भइसकेको छ, केही कर्मचारी नयाँ भर्ना र केही काजमा लिएर काम सुरु गर्दैछौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

स्वास्थ्य मन्त्रालयले स्थापना गर्ने उक्त केन्द्रबाट योग कक्षा, वृद्धवृद्धालाई परामर्श, नसर्ने रोगका परीक्षण तथा परामर्श र किशोर–किशोरीलाई यौन परामर्श सेवा उपलब्ध हुनेछ ।

चालु आर्थिक बर्षमा यस वर्ष मैजुबहाल, कुलेश्वर, डल्लु, मैतीदेवी, बालाजु, लैनचौर, नयाँ बसपार्क, पुरानो बसपार्क, धुम्बाराही, टेकु आदि स्थानमा सञ्चालन सुरु गर्ने योजना रहेको काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

तीमध्ये डल्लु, मैतीदेवी, टेकु र कुलेश्वरमा स्थान पनि हेरिसकिएको छ । महानगरले संचालन गरेको क्लिनिक रहेका स्थानमा केन्द्र स्थापना गरिने महानगरको भनाइ छ ।

केन्द्र स्थापनको लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले १२० जना नयाँ कर्मचारी भर्ना गरिसकेको छ । यसबाहेक महानगरसँग करिब ८० जना स्वास्थ्य कर्मचारी रहेको र उनीहरुलाई पनि परिचालन गरिने छ ।

केन्द्र स्थापानाको लागि सरकारले ७ करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये ४ करोड २७ लाख निकासी भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

केन्द्रबाट नसर्ने रोग निदानको लागि ल्याब सञ्चालन गर्ने, प्रवर्द्वनका लागि योगा शिक्षा, व्यायाम सेन्टर, परामर्श जस्ता सेवा उपलब्ध गराइनेछ । त्यसैगरी मधुमेह, मृगौला, मुटुरोग, उच्च रक्तचाप जस्ता समस्याका बिरामीको रेकर्ड राख्ने र उनीहरूको फलोअपको लागि सहजीकरण गर्ने सेवा उपलब्ध हुनेछ । केन्द्रले मानसिक रोगको निदानको लागि परामर्श सेवा पनि प्रदान गर्नेछ ।

किशोर–किशोरीका लागि यौन परामर्श कक्षासमेत सञ्चालन गर्ने तयारी भएको छ । त्यसैगरी, सरुवा रोगका बारेमा जनचेतनाका कार्यक्रमहरू पनि गरिने छ ।


क्लिकमान्डु