यस्तो आयो ३ लाखभन्दा कम लागतमा बनाउन सक्ने घरको डिजाइन (डिजाइन सहित)



काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ ।

भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको छ । डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँको लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ ।

सोसाइटी अफ नेपलिज आर्किटेक्चर(सोना)ले पाँचवटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले नयाँ ६ प्रकारका घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो ।

डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोका एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेन्टले समेत जोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ ।

उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले कम लागतमा धेरै विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सहरी विकास मन्त्रालयले यसअघि १७ वटा घरको नमुना डिजाइन तयार गरेको थियो । प्रभावित जिल्लामा हाल १७ प्रकारका नमुनामा घर बनाउन सिफारिस गरिन्थ्यो । अब २३ प्रकारका नमुनामध्ये पीडितले आफूलाई मन परेको नमुना छानेर घर बनाउन सक्नेछन् ।

समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न आवश्यक जग्गा/घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइ सर्न चाहने प्रभावितलाई जग्गा किन्न रु दुई लाख अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन प्राधिकरणअन्तर्गतको सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ । रासस


क्लिकमान्डु