मुसहर बस्ती निर्माण गर्न थप १ करोड रुपैयाँ चाहियो, ८० प्रतिशत काम पुरा



महोत्तरी ।  बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी रकमको अभाव देखिएको छ ।

साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १) मा निर्माणाधीन सो बस्तीको  ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन एक करोड ३० लाख रुपैयाँ अभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेमा आफू विश्वस्त रहेको कट्टेलले बताए ।

कुल चार करोड ७८ लाख रुपैयाँको लागतमा निर्माण हुने सो बस्ती आगामी नयाँ वर्ष वैशाख १ गतेका दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको हास्य कलाकार कुञ्जना घिमिरेले जानकारी दिए ।

सो बस्तीका घरमा  छाना, रङ्गरोगन, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत् र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलान जस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताए ।

एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी रहेको छ ।

गत पुस २५ गते मह जोडीद्वारा शिलान्यास भई तीब्रगतिमा निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ  तीन सय जनाले पसिना बगाइरहेका छन् ।


क्लिकमान्डु