१४ मेगावाटको घारखोला जलविद्युत निर्माण सुरु, ३ वर्षमा सञ्चालनमा ल्यार्इने



म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागतको सो आयोजना निर्माण सुरु गरेको हो ।

आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए ।

शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युत्गृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ । तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ ।

पहिलो चरणमा बाँध र सुरुङ रहने स्थलसम्म जाने पहुँचमार्गको ट्र्याक खोल्ने र पुरानो सडकलाई स्तरवृद्धि गर्ने काम भइरहेको छ ।

 


क्लिकमान्डु