आँप र लिचीको फूललाई असिना, हावाहुरीले क्षति पुर्यायो



उदयपुर। सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ ।

अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुपमा असिनाले खसाएर क्षति पुर्याएको कुरा जोगिदहका स्थानीय दिनेश चौधरीले बताए। दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले हँडिया र सुन्दरपुर क्षेत्रमा भर्खरै फुल्न थालेको आँप र लिचीको फूललाई क्षति पुर्याएको हँडिया राजाबासका स्थानीय राजकुमार प्रधान बताउँछन् ।

प्रधानले भने,’यो आँप र लिचीको फूल फुल्ने र फल लाग्न सुरु गर्ने समय हो,आफूहरुको बगैँचामा आँप तथा लिची फुलेर भर्खरै सानासाना फलसमेत लाग्न सुरु गरेका बेला अचानक आएको असिनाले फूल खसाइदिएको छ,यसपटक यस क्षेत्रमा आँप र लिची उत्पादनमा ठूलो क्षति पुगेको छ ।’

यता जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरीको भागलपुर क्षेत्रमा समेत असिनाका कारण आँपको फूलमा क्षति पुगेको भागलपुरका डिकबहादुर राई बताउँछन् । उदयपुर जिल्लामा जोगिदह, हँडिया, सुन्दरपुर र तपेस्वरी क्षेत्र आँपको पाकेट क्षेत्र मानिने गरेको छ । यसक्षेत्रमा लामो समयदेखि धेरै कृषकले व्यावसायिकरुपमा आँप तथा लिचीखेती गर्दै आएका छन् ।


क्लिकमान्डु