डाटा सेवामा पहिलो बन्ने टेलिकमको प्रयास, गुणस्तरमा सुधार भईरहेको दाबी




काठमाडौं । नेपाल टेलिकमले भ्वाइसको क्षेत्रमा पहिलो स्थानमा भएको भन्दै डाटाको क्षेत्रमा पनि पहिलो टेलिकम कम्पनी बन्ने योजनामा रहेको जानकारी दिएको छ ।

कम्पनीले सोमबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै पछिल्लो दिनमा डाटा सेवामा पनि पहिलो स्थानमा आउन प्रयासरत रहेको जानकारी दिएको हो ।

टेलिकमकी प्रवक्ता प्रतिभा तुलाधर वैद्यले भ्वाइसमा आगामी दिनमा पनि पहिलो स्थानमा नै हुने बताईन् ।

‘हामी अहिले भ्वाइसमा पहिलो स्थानमा छौं र आगामी दिनमा डाटामा पनि पहिलो हुने प्रयासमा छौं,’ उनले भनिन् ।

उनले हाल कम्पनीले सेवाको गुणस्तरमा जोड दिएको भन्दै विभिन्न कारणले समस्या आएको बताईन् ।

‘हामीले पछिल्लो दिनमा गुणस्तरमा ध्यान दिएका छौं, क्वालिटी कन्टिन्यूअस प्रोसेस हो, यसलाई भूकम्पले प्रभाव पारेको र ग्राहकहरुले घरमा बिटिएस राख्न नदिएको हुँदा समस्या आएको हो, ’ उनले भनिन् ।

गुणस्तरहिन मोबाइल सेटका कारण पनि सेवाको गुणस्तरमा प्रभाव पार्ने उनको दाबी छ ।

‘गुणस्तरहिन सेटले कल ड्रप हुने, कल नलाग्ने जस्ता समस्याहरु आउँछन्,’ उनले भनिन् ।

टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले टेलिकमको सहायक कम्पनी ल्याउन पहिलो चरणको अध्ययन गरेको र यसको लागि थप अध्ययन कार्य गरिरहेको जानकारी दिईन् ।


क्लिकमान्डु