अलैंची र अदुवामा भारतको नाकाबन्दी




काठमाडौं । तेह्रथुमको ओयाक्जुङका रामप्रसाद सुवेदीले यो वर्ष उत्पादन भएको ६ मन अलैंची बिक्री नगरी राखेका छन् । यस्तै ओयाक्जुङकै अर्का किसान चित्रब लिम्बु पनि मुल्य नआएको कारण ६ मन अलैंची अर्को वर्ष बिक्री गर्ने मनस्थितीमा छन् ।

त्यस्तै अवस्था छ, अदुवा किसानको पनि । नेपाल अदुवा उत्पादन व्यवसायी संघका सचिव हेमन्तराज बोहरा भारततर्फको अदुवा निकासी लगभग ठप्प रहेको बताउँछन् ।

‘पूर्वको नाका काकडभित्ताबाट निकासी भएपनि अन्य नाकाबाट अदुवा निकासी रोएिको छ’, उनले क्लिकमाण्डूसँग भने,– ‘भारतको नीतिको कारण अदुवा किसान मारमा परेका छन् ।’

भारतले आयातमा अघोषित प्रतिबन्ध लगाएको कारण नेपालको पहाडी क्षेत्रमा फल्ने अलैंची र अदुवा किसान योसँग सम्बन्धित व्यवसाय पूर्णरुपमा धरासायी भएको छ ।

नेपाल र भारतबीच भएको वाणिज्य सन्धीमा यसरी निर्यातमा प्रतिबन्ध लगाउन नपाइने व्यवस्था भए पनि भारतले नेपालको निर्यातमा यस्तो झमेला हरेक वर्ष निकाल्ने गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महिनासम्ममा भारततर्फ २ अर्ब २० करोड रुपैयाँको अलैंची निर्यात भएको छ । यस्तै १४ करोड रुपैयाँको अदुवा भारततर्फ गएको छ । अघिल्लो वर्ष भारतले नाकाबन्दी लगाउँदा अलैची २ अर्ब ७२ करोड तथा अदुवा २६ करोड रुपैयाँको निकासी भएको थियो । यो वर्ष नाकाबन्दी छैन ।

तीन वर्षमा अदुवा र अलैंची निर्यातको अवस्था (रु. दश लाखमा)

अलैंची र अदुवाको बजार पूर्णरुपमा भारतमा निर्भर हो । भारतले लगाएको अघोषित प्रतिबन्धको कारण अलैंची र अदुवाको बजार धरासायी भएको छ ।

अघिल्लो वर्ष पूर्वीपहाडमा अलैंचीको मुल्य प्रतिमन १ लाख रुपैयाँसम्म कारोबार भएको थियो । यो पटक यसको आधा अर्थात् ५० हजार हाराहारीसम्म यसको कारोवार भएको छ ।

‘मुल्य पनि आएको छैन, अलौंची खरिद गर्ने व्यवसायी पनि आएका छैनन्,’ किसान सुवेदीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि दुई पटक भारत गए । उनको सरकारका मन्त्रीहरु पनि बारम्बार भारत गइरहेका हुन्छन् । सरकारी तवरमा भारतले अलैंची र अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाउन कुनै पहल भएको छैन ।

दुई वर्षअघिसम्म प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुने गरेको अदुवा अहिले २० रुपैयाँमा झरेको छ । यो मुल्यले किसानलाई अदुवा लगाउँदाको लागत पनि उठ्न सक्ने स्थिति छैन ।

पर्वतका अदुवा किसान कुलप्रसाद सुवेदी पर्वतमा मात्र ५ हजार किलो अदुवा बारीमा कुहिने अवस्थामा पुगेको बताउँछन् ।

‘प्रतिकिलो ८० रुपैयाँको दरले बिउ किनेर ल्याएको अदुवा २० रुपैयाँमा पनि बिक्री नहुने अवस्था छ,’ उनले भने,-  ‘यसले किसानको लगानीसमेत नउठ्ने अवस्थामा पुगेको छ ।’

सरकारले निर्यात बढाउन सक्ने बस्तुको सूचीमा राखेपनि भारतले लगाएको अघोषित प्रतिबन्ध खुलाउन सरकारले खासै पहल गरेको छैन ।

नेपाल र भारतबीच भएको वाणिज्य सन्धीमा यसरी निर्यातमा प्रतिबन्ध लगाउन नपाइने व्यवस्था भए पनि भारतले नेपालको निर्यातमा यस्तो झमेला हरेक वर्ष निकाल्ने गरेको छ ।

‘भारतीय दूतावासमा धेरै पटक ज्ञापनपत्र बुझाए पनि कुनै निर्यातमा देखिएको समस्या समाधान भएको छैन,’ अदुवा उत्पादक संघका सचिव बोहराले भने,- ‘निकासी नभएमा देशभरको अदुवा किसानले गरेको उत्पादन तथा यसमा भएको लगानी खेर जाने गरेको छ ।’

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि दुई पटक भारत गए । उनको सरकारका मन्त्रीहरु पनि बारम्बार भारत गइरहेका हुन्छन् । सरकारी तवरमा भारतले अलैंची र अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाउन कुनै पहल भएको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष अदुवा र अलैंची निकासीमा देखिएको समस्या समाधानको लागि महासंघले काम गरिरहेको बताउँछिन् ।‘ केही समस्या समाधानपनि भइसकेको छ’,उनले भनिन्,‘बाँकी देखिएका समस्या समाधान गर्न महासंघ लागिरहेको छ।’

भारतले चीनबाट अदुवा नेपाल आयात हुने र भारततर्फ निकासी भएको भन्ने आरोपमा अदुवाको निकासीमा अघोषित प्रतिबन्ध लगाएको हो । तर, यसको पुष्टी भएको छैन ।

यस्तै अलैंचीमा पनि विभिन्न खालका बखेडा निकालेको कारण निर्यात नभएको हो । भारतले लगाएको ठूला दरको नोटको असर पनि अलैंचीले भोग्नु परेको छ ।


क्लिकमान्डु