उत्पादन गरेको अदुवा बिक्री भएन, कृषक पुर्पुरोमा हात लाउन बाध्य



पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् ।

यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन ।  खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले उचित मूल्य र बजार पाउन नसकेको  लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदी बताउँछन् ।

बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ । ‘प्रतिकिलो ८० रुपैयाँमा बीउ किनेर लगाएको अदुवा २० रुपैयाँमा पनि बिक्री भएन,’ सुवेदीले भने, ‘लगानीसमेत उठ्न नसक्ने अवस्था छ ।’

सो क्षेत्रमा उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । नेपालमा अदुवाको प्रयोग न्यून छ भने यसलाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ । दुई वर्ष अगाडीसम्म अदुवा प्रतिकिलो ६० रुपैयाँदेखि ८० रुपैयाँमा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदी बताउँछिन् । यातायातको सुविधा नहुँदा यहाँका कृषक पिठ्यूमा बोकेर म्याग्दीको बेनीसम्म  अदुवा, दूध, तरकारीलगायत कृषि उपज बिक्री गर्दैआएका छन् ।

 


क्लिकमान्डु