निर्वाचन हुन्छ, हुन्छ, हुन्छ : काँग्रेस सभापति देउवा




भक्तपुर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् ।

आज भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

चुनाव नभए संवैधानिक संकट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले चुनाव नहुने कुरै नभएको र चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शंका नगर्न आग्रह गरे । ‘चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।’ देउवाले भने ।

उनले चुनावमा जानुको अब विकल्प नभएको भन्दै चुनाव नभए प्रजातन्त्र नै नरहने संकेत गर्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।

हिमाल, पहाड र तराईलाई विभाजन गरी यहाँका बासिन्दाको एकता भाँड्ने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको बताए । यसलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी रहेको देउवाको भनाई ।


क्लिकमान्डु