बाहिरी चक्रपथले सुकुम्बासी बनाए सरकारले घडेरी दिने




काठमाडौं । बाहिरी चक्रपथ निर्माणको लागि जग्गा अधिकरण गर्दा सुकुम्बासी हुनेलाई सरकारले घडेरी दिने भएको छ ।

चक्रपथ निर्माणका लागि आवश्यक जग्गा अधिकरण गर्दा २ अना २ पैसा भन्दा कम जग्गा बाँकी रहेका जग्गाधनीलाई घडेरी दिने ब्यवस्था मिलाउन मन्त्रिपरिषदले आयोजनालाई निर्देशन दिएको हो ।

२ आना २ पैसा भन्दा कम जमिनमा घर बनाउन नपाउने सरकारी नियमको कारण सोभन्दा कम जग्गा बाँकी हुनेलाई बैकल्पिक ठाउमा घडेरी उपलब्ध गराउने ब्यवस्था मिलाउन मन्त्रिपरिषद्ले पत्र पठाएको आयोजनाका अधिकृत धुव्र सापकोटाले जानकारी दिए ।

‘बाहिरी चक्रपथको लागि जग्गा अतिक्रमण गर्दा २ आना २ पैसा माथि जग्गा बचेमा जग्गा धनीले घर बनाउन सक्नेछन्, तर सोभन्दा कम जग्गा बचेमा सो स्थानमा घर बनाउन मिल्दैन, मन्त्रिपरिषद्ले त्यस्ता जग्गा धनीलाई कसरी जग्गा उपलब्ध गराउने भनेर आयोजनासँग सुझाव माग गरेको छ,’ सापकोटाले क्लिकमाण्डूसँग भने ।

चक्रपथ बनेपछि जग्गाको भाउ अहिलेको भन्दा कयौं गुणा बढ्ने भन्दै आयोजनाले २ आना २ पैसाभन्दा बढी जमिन बाँकी हुनेलाई कुनै मुआब्जा नदिने रणनीति बनाएको छ । ०७२ सालको भूकम्पपछि सरकारले २ आना २ पैसाभन्दा कम जग्गामा घर बनाउन रोक लगाएको छ ।

विकासको नाममा जनता सुकुम्बासी नहुन भनेर मन्त्रीपरिषद्ले आयोजनालाई २ आना २ पैसाभन्दा कम जग्गा भएको व्यक्तिलाई कस्तो व्यावस्था गरेका छौं भनेर आयोजनासँग भएको योजना माग गरेको हो ।

आयोजनले मन्त्रीपरिषद्को पत्रलाई सकारात्मक रुपमा लिएको सापकोटाले बताए ।

आयोजनाले माघको अन्तिम साता चोभार सतुङगलखण्डको डिपीआर प्रस्ताव मन्त्रालयमा पेस गरेको थियो । सो डिपीआरमा जनताको सुरक्षा र हकहितको व्यवस्था प्रस्ट नभएको भन्दै सहरी विकास मन्त्रालयले प्रस्ताव स्वीकृति गर्न नसकिने जानकारी आयोजनालाई दिएको छ ।

अहिले आयोजनाले जनताको हकहितको रक्षा हुने गरी योजना तयार पारेको र एकदुई दिनभित्रमा यो योजना मन्त्रालयमा लगिने सापकोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले आयोजनालाई माघको दोश्रो साता पत्र पठाएको थियो ।

मन्त्रिपरिषद्ले आयोजनालाई पठाएको पत्रमा के छ ?
आयोजना निर्माणका क्रममा जग्गा अतिक्रमण गर्दा २ आना २ पैसा (न्युनतम) जग्गा हुने जग्गा धनीलाई कस्तो व्यवस्था गर्ने ?

आयोजन निर्माण हुने स्थलको चार किल्ला एकिन गर्ने

जग्गा धनीको नाम, थर, वतनको यकिन विवतरण संकलन गर्ने

आयोजना निर्माणका लागि कानूनी र नीतिगत रुपमा प्रष्ट हुने

वातावरणीय प्रभाव मूल्यांकन

योजना कार्यान्वयन

बाहिरी चक्रपथको परिकल्पना कसरी सुरु भयो ?
सरकारले काठमाडौं उपत्यकाको ट्राफिक चाप भित्री चक्रपथले धान्न नसक्ने र काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यस्थित सहरीकरणलाई व्यवस्थित बनाउनका लागि भन्दै आर्थिक वर्ष ०६१/०६२ देखि बाहिरी चक्रपथ विकासको कार्य प्रारम्भ गरेको थियो ।

करिब ७२ किलोमिटर लम्बाइ रहने बाहिरी चक्रपथले काठमाडौंमा ३५ किलोमिटर, भक्तपुरमा २१ किलोमिटर र ललितपुरमा १६ किलोमिटर पर्ने गरी प्रस्ताव गरिएको बाहिरी चक्रपथका लागि करिब ७ हजार २ सय रोपनी जग्गा विकास गर्ने लक्ष्य राखिएको छ ।

७२ किलोमिटर लम्बाइको चक्रपथको दायाँ बायाँ २ सय ५० मिटर र चक्रपथका लागि ५० मिटर गरी ५ सय ५० मिटर क्षेत्रमा सडक संजाल, ढल निकास, खुला क्षेत्र जस्ता भौतिक पूर्वाधारको विकासको योजना अन्तरगत सरकारले बाहिर चक्रपथ बनाउने बताउदै आएको छ ।


क्लिकमान्डु