मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष, १४ करोड रुपैयाँ आवश्यक पर्ने



गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ ।

मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो । मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले कामदार र काठ अभाव झेल्नु नपरेको भए मन्दिर पुनःनिर्माणले गति लिइसक्ने बताए। काठ अभाव टार्न पुरानै काठको प्रयोग भइरहेको छ ।

श्रेष्ठले भने, ‘चार/पाँच जना कामदारले मन्दिर पुनःनिर्माणको काम गर्दै आएका छन् । पुरातत्व विभागले भनेअनुसार पहिलेकै अवस्थामा कुनै हेरफेर नहुने गरी मन्दिर निर्माण भइरहेको छ ।’ पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको मन्दिर भएकाले पुरातत्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनःनिर्माण अघि बढाइएको छ ।

विसं ०७२ साउनदेखि मन्दिर पुनःनिर्माण सुरु गरिएको थियो । एक वर्षभित्रमा मन्दिरको एक तला निर्माण सकिएको हो । ०७४ सालभित्रमा मन्दिरको पुनःनिर्माण सक्ने र धर्मावलम्बीलाई पूजाअर्चनाका लागि खुल्ला गरिने श्रेष्ठले बताए । पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुल्ला ठाउँमा टहरो बनाएर पूजाआजा गरिँदै आइएको छ ।

०६८ मा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर पुनःनिर्माणमा आठ करोड रुपैयाँ लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ । मन्दिर निर्माण सक्न कम्तीमा १४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ । मन्दिर निर्माण गर्न सरकारले करिब चार करोड रुपैयाँ दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब पाँच करोड ५० हजार रुपैयाँ सङ्कलन भएको छ ।

 


क्लिकमान्डु