धौलागिरि आइसफलमा पूर्वाधार थपिँदै, पर्यटकका लागि प्याकेज बनाइने



मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ ।

चार वर्षअघि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण काम भइरहेको छ । धौलागिरि आइसफल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष धुव्र पाइजाले तीन वर्षमा तीस लाख रुपैयाँ बराबरको काम गरिएको जानकारी दिए।

‘१५ किलोमिटरभन्दा बढी पदमार्गको ट्रयाक खोलेका छौँ । सोवाङधुरीसम्म जान सकिने भएको छ । कालीबराह पुर्याउन सकियो भने पदमार्गको सबै काम सकिन्छ,’ उनले भने। उनका अनुसार, यो काम यसै वर्ष सकिनेछ ।

पदमार्गको अन्तिम बिन्दु त्यही कालीबराह नै हो । त्यहाँबाट धौलागिरि, मानापाथीलगायतका हिमालबाट निरन्तर हिउँ झरेको देख्न सकिन्छ । कालीबराहबाट कुइनेमङ्गलेको छरीखानी झर्ने र मुस्ताङको लेते निस्कन पनि सकिन्छ । ‘समुद्री सतहदेखि ५५२५ मिटर उचाइ अवस्थित धौलागिरि आइसफल दहबुकी डाँडासँग जोडिएको छ । कालीबराह पुगेपछि माथि जान सक्ने अवस्था छैन’, उनले भने ।

बेनीनगरपालिका–९ गलेश्वरबाट सुरु हुने पदमार्गले जिल्लाका पिप्ले, भगवती, वेग, दोबा, दग्नाम, चिमखोला र कुइनेमङ्गले र मुस्ताङको लेते र कोबाङलाई समेटेको छ । विदेशी पर्यटकका लागि कालीबराहबाट मुस्ताङ निस्कने गरी सात दिनको प्याकेज तथा आन्तरिक पर्यटकका लागि तीन दिनको प्याकेज बनाउन लागिएको उपभोक्ता समितिका सल्लाहकार देवेन्द्र केसीले जानकारी दिए । ‘ट्रयाक नभएको ठाउँ खोल्ने, विभिन्न स्थानमा पर्यटकका लागि पदचिह्न बनाउने काम भइरहेको छ ।’

घनाजङ्गलमा भेटिने घोरल, चितुवा, मृग, डाँफे मुनाल, थरीथरी  रङका लालीगुराँस, भेडागोठ, अग्लाअग्ला नाङ्गा पर्वत, दहब्की ताल, धौलागिरि र अन्नपूर्ण हिमालको रेञ्ज र बहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन् ।

पदमार्गले समेटिएको राखु र भगवती क्षेत्रका स्थानीयले पदमार्गलाई लक्षित गर्दै होमस्टे (घरबास) सञ्चालनको तयारी गरिरहेका छन् ।

 


क्लिकमान्डु