निर्वाचन आयोगले माग्यो टेलिकम कम्पनीहरुको देशभरको पहुँचको डाटा



काठमाडौं । निर्वाचन आयोगले देशैभरी टेलिकमको हालको अवस्थाको तथ्यांक मागेको छ । आयोगले नेपाल दूरसंचार प्राधिकरणलाई चिठ्ठी लेखेरै देशभर टेलिकम कम्पनीहरुको पहुँचको जानकारी माग गरेको हो ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीलाई ध्यानमा राखेर आयोगले तथ्यांक माग गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘आयोगले हरेक गाउँपालिकामा टेलिकमको पहुँच र कम्पनीहरुको सेवाको बारेमा जानकारी माग गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

प्रवक्ता अर्यालका अनुसार आयोगले गाउँपालिकामा कुन टेलिकम कम्पनीले सेवा दिईरहेको छ भनेर तथ्यांक खोजेको हो ।

आयोगको मागको आधारमा प्राधिकरणले सबै टेलिकम अपरेटरहरुसँग उनीहरुको गाउँपालिकासम्मको पहुँच र अवस्थाको बारेमा तथ्यांकहरु संकलन गरिरहेको छ । हालसम्म चार वटा कम्पनीहरुले बिवरण पठाएको प्रवक्ता अर्यालले बताए ।

‘हालसम्म टेलिकम, एनसेल, एसटिएम र नेपाल स्याटेलाइटको तथ्यांक आईसकेको छ, बाँकीको पनि आएपछि आयोगलाई बिवरण पठाउँछौं,’ उनले भने ।

प्राधिकरणले बाँकी दुई टेलिकम कम्पनीहरु यूनाईटेल टेलिकम लिमिटेड (यूटिएल) र सिजी कम्यूनिकेन्सलाई पनि बिवरण उपलब्ध गराउन जानकारी गराईसकेको छ ।

प्राधिकरणकाअनुसार निर्वाचनको समयमा आवश्यक पर्ने टेलिकमको प्रयोग र अन्य विकल्पहरुमा जानुपर्ने अवस्थामा गर्नुपर्ने तयारीको लागि सूचना माग गरेको हो ।


क्लिकमान्डु