धौलागिरि पदमार्गको नक्सा तयार, प्राकृतिक सौन्दर्यता खोज्ने पर्यटकका लागि उपयुक्त



म्याग्दी । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ ।

रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो ।

म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि सेन्चुरी पदमार्गअन्तर्गत कुइनेमङ्गलेबाट सुरु भई मल्कबाङ, मुदी, गुर्जा र रुकुमको सिस्ने तथा डोल्पा जोड्ने गरी तयार गरिएको हो ।

पदमार्गका अनुसन्धानकर्तासमेत रहेका पर्वतारोही खत्रीले कालीगण्डकीदेखि पश्चिममा भेरी नदीसम्मको धौलागिरि रेञ्जमा रहेका हिमशृङ्खलालाई समेटेर विभिन्न पर्यटकीय पदमार्ग पहिचान गरिएको बताए। उनका अनुसार,उक्त पदमार्गको नक्सा जिल्ला विकास समिति रुकुम,नेपाल पर्वतारोहण सङ्घ,म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश भएको साविकको गुर्जा गाविसको आर्थिक सहयोगमा हिमालय म्याप हाउसले तयार गरेको हो ।

खत्रीले तयार गरेको पदमार्गको नक्साङ्कनअनुसार पश्चिम धौलागिरि पदमार्गको केन्द्रबिन्दु म्याग्दीको गुर्जालाई मानिएको छ भने ट्रान्स धौलागिरि पदमार्गको सुरुवात विन्दु म्याग्दी सदरमुकाम बेनीलाई मानिएको गाउँ पर्यटन विकास समिति गुर्जाका संयोजक झकबहादुर छन्त्यालले बताए ।

पदमार्गको नक्साङ्कनअनुसार तल्लो ट्रान्स धौलागिरि पदमार्गमा भ्रमणमा जाने पर्यटक मुस्ताङको लेतेबाट सुरु गरी फेदी–म्याग्दीको कुइनेमङ्गले हुँदै मुदीको खिबाङमा पुगेर माथिल्लो पश्चिम धौलागिरि पदमार्गमा जोडिन्छन् । यस पदमार्गमा हालै म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको धौलागिरि सेन्चुरी पदमार्ग हुँदै भ्रमणमा पुगेका पर्यटकलाई समेत कुइनेमङ्गले हुँदै पश्चिम धौलागिरि पदमार्गको भ्रमणमा लैजान सकिने सम्भावना रहेको छ ।

धेरै पहिले म्याग्दीको गुर्जाका सर्वसाधारण रुकुम र डोल्पा आवतजावत गर्ने गरेको आधारमा त्यसै रुटमा थप अनुसन्धान र स्थलगत अवलोकन गरी उक्त पदमार्गको पहिचान गरिएको हो । चार वर्षको अध्ययन अनुसन्धानबाट पहिचान गरिएको यस पश्चिम धौलागिरि पदमार्गलाई मुख्यतः उचाइका आधारमा तीन चरणमा विभाजन गरिएको छ ।

माथिल्लो भेगलाई समावेश गरिएको ट्रेकले उच्च हिमाली क्षेत्र र हिमालका आधार शिविरहरुलाई छोइएको छ भने तल्लो भेगलाई समावेश गरिएको ट्रेकलाई पहाडि भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने गरी नक्साङ्कन गरिएको छ । पुथा र चुरेन हिमाललाई समेटिएको पदमार्गलाई माथिल्लो पश्चिम धौलागिरि नामाकरण गरिएको छ ।

यो पदमार्गको सुरुवात विन्दु म्याग्दीको गुर्जा पुगेर त्यहाँबाट चुरेन र पुथा हिमालको बेस क्याम्प पुगेर त्यहाँबाट इच्छाअनुसार डोल्पा, रुकुम र ढोरपाटन आरक्ष क्षेत्रमा पुगेर पदयात्रा अन्त्य गर्न सकिने पर्वतारोही खत्रीले बताए।

त्यसैगरी तल्लो धौलागिरि ट्रेकमा दरबाङ, मुना, लुलाङ हुँदै गुर्जा पुगेर एकराते, फलियाघर, रुकुमको वारमीपारमी, दोगाडी खोला, मैकोट अथवा सिस्ने बस्ती हुँदै स्यार्पू तालमा पुगेर यात्रा टुङ्गिने गरी नक्साङ्कन गरिएको छ । चौथो विकल्पका रुपमा पहिचान गरिएको ढोरपाटन कल्चरल ट्रेकअन्तर्गत गुर्जा हुँदै गुर्जाघाट, रुघाचौर, मैकोट, रन्मा, अर्जल हुँदै सिस्नेको चारगाउँ निस्कने गरी पदमार्गको पहिचान गरिएको छ ।

‘धेरै वर्ष पहिले गुर्जाका स्थानीय बासिन्दाले नुन लिनका लागि प्रयोग गरेको गुर्जा–डोल्पा पैदल मार्गलाई नै आधार बनाएर दुवैतर्फका हिमाली भूगोललाई समोश गरी पश्चिम धौलागिरि पदमार्ग पहिचान गरिएको हो,’  खत्रीले भने।

पदमार्गमा मनोरम हिमशृङ्खला,थरिथरिका जङ्गली फूल,जडीबुटी,चराचुरुङ्गी,हिमाली र जङ्गली जनावर,प्राकृतिक भू–बनोट प्रमुख आकर्षण रहेका छन् भने क्षेत्री,दलित,मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृतिसमेत थप आकर्षण हुनेछन् ।

सडक सञ्जालले नछोएको र भविष्यमा समेत प्रत्यक्ष प्रभाव पार्न नसक्ने गरी पहिचान गरिएको पदमार्ग भएकाले प्राकृतिक सौन्दर्यतामा रमाउन खोज्ने पर्यटकका लागि यो पदमार्ग उत्तम मानिने छन्त्यालको दाबी छ ।


क्लिकमान्डु