आफ्नै हिसाब पनि अद्याबधिक गर्दैनन् विश्वविद्यालयहरु




काठमाडौं । उच्च शिक्षाको जिम्मेबारी पाएका विश्वविद्यालयहरुले आफ्नो आम्दानी र खर्चको यथार्थ विवरण (लेखा) भने राम्रोसँग राख्ने गरेका छैनन् ।

अधिकांश विश्वविद्यालयहरुले आफ्नो आम्दानी र खर्चको विवरण राम्रोसँग नराखी बर्षाैंदेखिको बेरुजु तान्दै ल्याउने गरेका छन् ।

विश्वविद्यालयहरुलाई बेरुजु फछ्र्योटमा ताकेता गर्दा पनि आलटाल गरिरहेका बेरुजु फछ्र्योट मूल्यांकन र अनुगमन समितिका सदस्य सचिब कृष्णनाथ खनालले जानकारी दिए ।

‘बेरुजु फछ्र्योट गर्न समितिले सबै प्रकारको सहयोग गर्छ भन्दा पनि अपेक्षा अनुसारको काम हुन सकेको छैन, विश्वविद्यायलय नेतृत्वले अलिकति चासो देखाएर काम गर्ने हो भने फछ्र्योट हुन नसक्ने अबस्था रहदैन,’ सदस्यसचिब खनालले क्लिकमाण्डूसँग भने ।

समितिले दिएको जानकारी अनुसार विश्वविद्यायलयहरुले २८ अर्ब ४१ करोड २१ लाख रुपैयाँ बेरुजु फछ्र्योट गर्न बाँकी छ । आम्दानी र खर्चको विवरण राख्दा देखिएको कैफियतमा असुल गर्नुपर्ने, नियमति गर्नुपर्ने र पेश्की फछ्र्योट गर्नुपर्ने गरी तीन प्रकारको बेरुजु हुने गर्छ ।

यसमध्ये असुल गर्नुपर्ने रकम असुल भएपछि मात्रै बेरुजु फछ्र्योट हुने गर्छ । नियमित गर्नुपर्ने बेरुजुमा अनियमित भएको भए नियमित गर्नुपर्छ । यस्तै प्रमाण कागजात पेश नभएको भए त्यस्ता प्रमाण कागजात पेश गर्नुपर्छ, जिम्मेवारी नसारेको भए सार्नुपर्छ र शोधभर्ना नलिएको भए लिनु पर्छ । यति भएपछि त्यस्तो रकम नियमित हुन्छ र बेरुजुबाट हट्छ ।

पेश्की बेरुजु रहेको भए पेश्की फछ्र्योट गर्नुपर्ने हन्छ । पेश्की अन्तरगत पनि कर्मचारीलाई दिएको पेश्की, मोबिलाइजेसन पेश्की, प्रतितपत्र पेश्की र संस्थागत पेश्की हुन सक्छ । यस्तो पेश्की रकम फछ्र्योट गरेपछि बेरुजुबाट हट्ने भएपनि सम्बन्धित कार्यालयले चासो नदिदा बेरुजु रकम बढ्दै जाने गरेको हो ।

विश्वविद्यालय तर्फको बेरुजुमा सबैभन्दा बढी बेरुजु रकम त्रिभुवन विश्वविद्यालयको छ । सो विश्वविद्यालयले १२ अर्ब ५७ करोड ३० लाख रुपैयाँ बेरुजु फछ्र्योट गर्न बाँकी छ ।

त्रिवि पछि सबैभन्दा धेरै बेरुजु राख्नेको दोस्रो श्रेणीमा पोखरा विश्वविद्यालय छ । सो विश्वविद्यालयले ४० करोड ७२ लाख रुपैया बेरुजु फछ्र्योट गर्न बाँकी रहेको समितिले जानकारी दिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको बेरुजु रकम पनि उल्लेख्य छ । सो विश्वविद्यालयले १९ करोड ६८ लाख रुपैयाँ बेरुजु फछ्र्योट गर्न बाँकी छ ।

बेरुजु फछ्र्योटन नगरी गोलमाल हिसाब राख्नेमा मध्यपश्चिमान्चल विश्वविद्यालय पनि अगाडि नै छ । सो विश्वविद्यालयले १६ करोड ५९ लाख रुपैयाँ बेरुजु फछ्र्योट गर्न बाँकी छ ।
लुम्बिनी बौध विश्वविद्यालयले १९ लाख ६३ हजार, कृषि तथा बन विज्ञान विश्वविद्यालयले ३ करोड ९५ लाख, सुदुर पश्चिमान्चल विश्वविद्यालयले १ करोड ६५ लाख रुपैयाँ बेरुजु फछ्र्योट गर्न बाँकी छ ।


क्लिकमान्डु