लप्सीको क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला, मासिक २० हजार रुपैयाँ आम्दानी



काभ्रे। उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् ।

सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समयअघि क्यान्डी बनाउने तालिम दिएको थियो । उक्त तालिम लिइसकेपछि नै आफूलाई क्यान्डी बनाउन सजिलो भएको ३२ वर्षीया शोभा गौतम बताउँछिन् । कामको थालनी नाला पाउँ भण्डारको नामबाट सुरु गरिएको र फुर्सदको समयमा सो कामलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

‘काम नहुँदा के गर्ने कसो गर्ने भन्ने जस्तो लाग्थ्यो, तालिम लिएपछि आत्मनिर्भर बन्न सजिलो भएको छ,’ गौतमले भनिन् । हाल उनी क्यान्डीको बजार व्यवस्थापनको काम गरिरहेकी छिन् ।

त्यस्तै टुकुचा नाला–७ का ३० वर्षीय सुमित्रा घिमिरे विवाह गरेको १० वर्षपछि पारिवारिक सम्बन्ध राम्रो नभएका कारण माइतमा बस्न बाध्य भइन् । उनले पढे पनि श्रीमान्ले नागरिकता नबनाइदिएपछि जागिरसमेत खान पाइनन् । उनीसँग सीपको समेत अभाव थियो । नारी जागरण बचत तथा ऋण सहकारीबाट महिला आत्मनिर्भरतासम्बन्धी तालिम लिएपछि उनी हाल क्यान्डी बनाएर बिक्री गरी स्वरोजगार बनेकी छिन् ।

‘पहिला रुँदैमा दिन कटाउँथे, अहिले दिदीबहिनीसँगै काम गर्न थालेपछि स्वरोजगार बनेकी छु,’ उनले भनिन्। आत्मनिर्भर बन्न सकेकोमा घिमिरे निकै खुसी छिन्। आयआर्जन गरेर सक्षम हुन सकेकामा शोभा र सुमित्रा औधी खुसी छन् । उनीहरुसँगै गाउँका अरु महिला समेत अहिले क्यान्डीमार्फत आयआर्जन गर्दैआएका छन् ।

बिहान बेलुका घरको काम सकेर महिलालाई क्यान्डीमार्फत आयआर्जन गर्न सजिलो भएको छ । पहिले घरबाट बाहिर निस्कन नसक्ने महिला अहिले क्यान्डी बनाएर बिक्री गरिरहेका छन् । उनीहरुले क्यान्डी बनाएर मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दैआएका छन् ।

नारी जागरण नेपाल नामक संस्थाले पीडित महिलाका लागि विभिन्न तालिम सञ्चालन गर्दैआएको छ । संस्थाका अध्यक्ष निर्मला श्रेष्ठ नेपालबाट युवा विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमा रोजगार दिन समय समयमा तालिम प्रदान गर्दैआएको बताउँछिन् ।


क्लिकमान्डु