बैंकका सीइओलाई सोल्टी होटल बोलाएर गभर्नरले भने- स्वार्थी बैंकिङ नगर्नुहोस्



काठमाडौं । शुक्रबार १२ बजे सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई राष्ट्र बैंकले सोल्टी होटल बोलाएको थियो ।

समसामयिक विषयमा छलफलका लागि भनेर राष्ट्र बैंकले बैंकरहरुलाई बोलाएको डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

वाणिज्य बैंकका सीइओहरुसँग राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, केही कार्यकारी निर्देशकहरुले छलफल गरेका थिए ।

१२ बजेदेखि २ बजेसम्म छलफल गरिएको बैंकर्स संघका उपाध्यक्षसमेत रहेका एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले बताए ।

छलफलका क्रममा गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई स्वार्थी बैंकिङ नगर्न आग्रह गरेका थिए ।

‘बैंकहरुले आफ्नो नाफा मात्रै हेर्ने होइन, समग्र सिस्टमकै हित हेर्नुपर्यो, त्यसैले तपाईहरुले स्वार्थी बैंकिङ नगर्नुहोस्,’ गभर्नरको भनाई उधृत गर्दै डेपुटी गभर्नर श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

गभर्नर डा. नेपालले बैंकहरुलाई उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्न आग्रह गरे ।

‘नाफामात्रै हेर्नु भएन, भ्यालुएबल र सोसल बैंकिङ गर्नुपर्यो,’ उनले भने ।

छलफलमा वाणिज्य बैंकहरुका सबै सीइओ उपस्थित थिए । बैंकर्स संघका अध्यक्षसमेत रहेका अनिल शाह भने व्यक्तिगत कामका लागि उपत्यका बाहिर रहेकाले उपस्थित भएका थिएनन् । तर, उनले प्रतिनिधि पठाएका थिए ।

‘हामीलाई त किन बोलाएको ? के का लागि बोलाएको भन्ने थाहा थिएन, त्यहीँ पुगेपछि मात्रै थाहा पायौं,’ ढुंगानाले भने ।

छलफलका क्रममा बैंकरहरुले राष्ट्र बैंकले ल्याएका पछिल्ला नीति निर्देशनहरु कार्यान्वयन कसरी गर्ने भनेर चासो राखेका थिए ।

केन्द्रिय बैंकले पनि पछिल्लो समय आफूले जारी गरेका निर्देशनहरु प्रभावकारी कार्यान्वयन कसरी गराउने भन्ने उद्देश्यले छलफ आयोजना गरेको डेपुटी गभर्नर श्रेष्ठले बताए ।


पुष्प दुलाल