को बन्ला दुरसंचार प्राधिकरणको संचालक ? यस्ता छन् प्रतिस्पर्धी




काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको २ जना सदस्यको लागि आवेदन दिने उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । प्राधिकरणमा प्राविधिक र लेखा तथा लेखा परिक्षण तर्फको २ सदस्य पद खाली छ ।

खालीमध्ये १२ जना प्राविधिक तर्फ र ७ जना लेखा तथा लेखापरीक्षण समूहतर्फ उम्मेदवारको सूची सार्वजनिक गरिएको हो ।

सो सूचीमा प्राविधिक समूहतर्फ सबैभन्दा धेरै दुरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का पूूर्व कर्मचारीहरु रहेका छन् । सदस्यका लागि आवेदन दिने लेखा तथा लेखा परिक्षण समूहतर्फ भने चार्टर्ड एकाउन्टेन्टहरुको आवेदन अधिक परेको सूचना तथा संचार मन्त्रालयले जानकारी दिएको छ ।

सार्वजनिक भएको उम्मेदवारहरुको सूची हेर्दा प्राविधिक समूहमा टेलिकमबाट, इन्जिनियरिंग क्षेत्रबाट, नेपाल स्याटेलाइट टेलिकम, स्मार्ट टेलिकम, यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल)मा कार्यअनुभव भईसकेका व्यक्तिहरुको उम्मेदवारी परेको छ ।

मन्त्रालयकाअनुसार इन्जिनियर अनन्तराज घिमिरे, उज्वलभक्त प्रधानाङ्ग, केशवराज ज्ञवाली, चुडामणी चौंलागाई, चेतन रत्न कंसाकार, मधुसुधन कर्माचार्य, मनिस कुमार सुब्बा, रेग बहादुर भण्डारी, विश्वनाथ गोयल, शिवभुषण लाल, डा. सुरेन्द्र श्रेष्ठ तथा सुवास बज्राचार्यलाई प्राविधिक समूहको सूचीमा राखिएको छ ।

प्राविधिक समूहमा सदस्यका लागि आवेदन दिनेमध्ये कंसाकार, कर्माचार्य, गोयल र लाल नेपाल टेलिकमका पूर्व कर्मचारीहरु भएको मन्त्रालय स्रोतले जानकारी दियो । यसमध्ये गोयल टेलिकममा प्रबन्ध निर्देशकको रुपमा काम गरिसकेको व्यक्ति हुन् । कर्माचार्य र लाल यसअघि टेलिकम भित्रै प्रबन्ध निर्देशकको प्रतिस्पर्धामा पनि रहेका थिए ।

त्यस्तै प्रतिस्पर्धामा रहेका बज्राचार्य स्मार्ट टेलिकमका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन भने ज्ञवाली यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल)का डेपुटी म्यानेजर भईसकेका ब्यक्ति हुन् ।

डा. सुरेन्द्र श्रेष्ठ इन्जिनियर हुन् जो पुल्चोक इन्जिनियरिंग क्याम्पसमा आबद्ध छन । इन्जिनियर घिमिरे पनि अध्यापनमा आबद्ध रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उम्मेदवार भएका भण्डारी यसअघि प्राधिकरणमा नै ग्रामीण दूरसंचार विकास कोषमा सदस्य भईसकेका तथा हाल क्यान महासंघका कार्यसमिति सदस्य रहेको उनको फेसबुक एकाउन्टमा देखिन्छ ।

यसबाहेकका उम्मेदवारहरु भने कोही विदेशमा कार्यरत रहेका, कोही परामर्शदाताको रुपमा कार्यरत रहेको स्रोतले जानकारी दिएको छ । त्यसैगरी नेपाल स्याटेलाइट टेलिकममा आबद्ध एक जनाले उम्मेदवारको सूचीमा रहेको मन्त्रालय स्रोतको भनाई छ ।

लेखा तथा लेखापरीक्षण समूहतर्फ जनक कुमार बराल, टेकनाथ आचार्य, बिजयरत्न स्थापित, भिम बहादुर चन्द, राजेन्द्र प्रसाद तिम्सिना, सुनिल जाकीबन्जा र डा. हेमराज भण्डारीलाई उम्मेदवार कायम गरिएको छ ।

यसमध्ये ४ जना चार्टर्ड एकाउन्टेन्ट हुन भने ३ जना व्यवस्थापनमा स्नातकोत्तर गरेका व्यक्तिहरु रहेको स्रोतले जानकारी दियो । यसमध्ये जाकीबन्जा टेलिकम्यूनिकेसन कम्पनी एसटिएममा काम गरिसकेका चार्टर्ड एकाउन्टेन्ट हुन् ।

मन्त्रालयले आवेदन माग गरिएका दुबै पदमा आवेदन दिने सबैलाई उम्मेदवारमा राखिएको जानकारी दिएको छ । दुबै समूहका उम्मेदवारहरुले आफ्नो व्यवसायिक कार्ययोजना प्रस्तुति गरेपछि सर्टलिस्टेड गरिने छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरुले सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभब हासिल गरेको स्पष्ट विबरण तथा शैक्षिक योग्यता र अनुभव पुष्टि हुने कागजात लिई उपस्थित हुनुपर्नेछ ।


क्लिकमान्डु