निक्षेप १०३ अर्बले बढ्दा कर्जा १३५ अर्बले बढ्यो



काठमाडौं । पछिल्लो चार महिनादेखि लगातार निक्षेपको तुलनामा कर्जाको वृद्धिदर बढी छ । जसले गर्दा बैंकहरु अझैपनि सहजै कर्जा दिनसक्ने अवस्थामा देखिँदैनन् ।

खासगरी गत मंसिरदेखि बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभावको समस्या झेल्दै आएका छन् ।

राष्ट्र बैंकका अनुसार मंसिरदेखि फागुन अन्तिमसम्ममा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ३ अर्ब रुपैयाँले बढेको छन् । सोही अवधिमा कर्जा भने १ खर्ब ३५ अर्ब रुपैयाँले बढेको छ ।

निक्षेपको तुलनामा लगातार कर्जा बढेपछि बैंकहरुलाई थप कर्जा विस्तार गर्न कठिन भएको हो ।

फागुन अन्तिममा वाणिज्य बैंकहरुले १९ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १६ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जबकी गत मंसिरमा वाणिज्य बैंकहरुले १८ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो एक महिनाकै तथ्यांक हेर्ने हो भनेपनि निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी देखिन्छ । पछिल्लो महिना वाणिज्य बैंकहरुले ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।


पुष्प दुलाल