अब देशमा लगानी गर्ने वातावरण बन्यो : उद्योगमन्त्री जोशी




काठमाडौं । उद्योगमन्त्री नबिन्द्रराज जोशीले कम्पनी ऐन २०६३ को पहिलो संसोधनले नेपालमा लगानीको वातावरण थप मजबुत पार्ने बताएका छन् ।

बुधबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जोशीले कम्पनी ऐन २०६३ को संशोधनले नेपालमा सुनौलो दिन ल्याउन ठूलो मद्दत पुग्ने बताएका हुन् । हालसालै राजधानीमा सरकारले गरेका नेपाल लगानी सम्मेलनको सफलता र बिदेशी लगानीकर्ताकाट आएको १४ खर्ब रुपैंयाँ हाराहारीको लगानी प्रतिबद्धतालाई मन्त्री जोशीले नेपालको सुनौलो दिनको शुरुवातको संज्ञा दिएका थिए ।

‘बौद्धिक सम्पत्ती सम्बन्धि नीति र खानी तथा खनिज नीति पारित हुनुले बैदेशिक लगानी थप आकर्षित हुने विश्वास हामीले लिएका छौं ’ मन्त्री जोशीले भने ।

आगामी २ बर्ष सक्रिय नरहेका कम्पनीहरु बन्द गर्न बिशेष सुबिधा दिएका कारण पनि लगानीकर्ताहरु थप आकर्षित हुने उनको भनाइ छ । पहिले कम्पनी खारेज गर्ने प्रक्रिया निकै झन्झटिलो भएको र निष्कृय कम्पनी बन्द नगर्दा कम्पनीका संचालकका दायित्व पनि बढ्दै जाने अवस्था थियो । अबको नयाँ ब्यवस्थामा आगामी २ बर्ष सम्म चुक्ता पूँजीको ०.५ प्रतिशत वा कुल दायित्व मध्येको कम रकम तिरी सहजै कम्पनी खारेज गर्न सकिनेछ ।

‘कम्पनी ऐनको संशोधनले ब्यवस्था गरेको डिजिटल सिग्नेचर, अनलाइन कम्पनी दर्ता, भिडियो कन्फ्रेन्स र कुनै पनि सञ्चालक साधारण सभाको माग गर्दै अदालत जान सक्ने ब्यवस्थाले ब्यवसाय गर्न धेरै सहज हुनेछ’ मन्त्री जोशीले भने ।

मन्त्री जोशीले कार्यक्रममा नेपाल लगानी सम्मेलनमा भाग लिएका तर लगानी रकम प्रतिबद्धता नगरेका केहि बिदेशी कम्पनीले समेत लगानी प्रति चासो राखेको जानकारी दिए । उनले टर्की, क्यानडा, अमेरिकाको सिलीकन भ्याली लगायतबाट नेपालमा बैदेशिक लगानी प्रक्रियाबारे चासो राखेको बताए । लगानी सम्मेलनमा करिब १४ खर्ब रुपैंयाँको लगानी प्रतिबद्धता आएको थियो ।


क्लिकमान्डु