सिटीइभिटीद्धारा पुनर्निर्माणका लागि कामदारलाई तालिम, चार सय २० डकर्मी तालिमलिँदै



काठमाडौँ। भूकम्पपछिको पुनर्निर्माणमा दक्ष कामदारको अभाव भइरहेको गुनासो बढेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले चार सय २० डकर्मीलाई तालिम दिइरहेको छ ।

परिषद्अन्तर्गत रहेको बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले भूकम्प अति प्रभावित रसुवा,धादिङ र नुवाकोटका गरी चार सय डकर्मीलाई तह एकको तालिम दिइरहेको रोजागार तथा परामर्श शाखा प्रमुख अनिल बज्राचार्यले जानकारी दिए ।

तालिम तीनै जिल्लामा एक हप्ताअघि देखि सञ्चालन भइरहेको छ । दुई महिनामा दक्ष कामदार तयार पारिने उनले जानकारी दिए। स्कूलले यसअघि पनि चार सय २८ कामदारलाई तालिम दिइसकेको छ ।

शङ्खरापुर पोलिटेक्निक इन्स्टिच्युटले साँखुमा काठमाडौँ र सिन्धुपाल्चोकका डकर्मी तह एक उत्तीर्ण गरी एक वर्ष काम गरेका २० डकर्मीलाई तह दुईको तालिम दिइरहेको छ । भूकम्पपछिको पुनर्निर्माणमा दक्ष कामदारको अभाव भएकाले डकर्मी तालिम आयोजना गरिएको इन्स्टिच्युटका संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

भूकम्प अति प्रभावित १४ जिल्लामा पुनर्निर्माणका लागि ६० हजार दक्ष कामदार आवश्यक पर्नेमा हालसम्म १५ हजारले मात्र तालिम लिएका छन् । तालिम लिएका पनि सबैले काम गरेका छैनन् । जसका कारण घर पुनर्निर्माण गर्न चाहने पीडितले पनि कामदार पाएका छैनन् ।


क्लिकमान्डु