सडक दुर्घटनाः गल्ती गर्ने इन्जिनियर र ब्यवसायी, दोष बबुरो ड्राइभरलाई



गत विहिबार जाजरकोटको खलंगामा यात्रुवाहक बस दुर्घटना हुदाँ करिब २ दर्जन यात्रुको मृत्यु भयो । दर्जनौ घाईते भए । नेपालमा सडक दुर्घटनाका यस्ता दुखद घटनाहरु दिनदिनै बढ्दै गईरहेको छ । हरेक दिन साना ठूला दुर्घटना भईरहेका छन् । सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउन नागरिक विवश छन् ।

यसरी भयावह बन्दै गईरहेको सडक दुर्घटनाको कारणको बारेमा छानविन गर्न र सुझाब दिनको लागि सरकारले समय समयमा छानविन समिति समेत गठन गर्ने गरेको छ । यस्ता समितिहरुले दिएका प्रतिवेदनलाई अध्ययन गर्दा सवारी चालकको लापरबाही नै प्रमुख कारण रहेको उल्लेख गरेको पाईन्छ । एउटा चालकलाई सडक दुर्घटनाको सम्पूर्ण दोष दिएर अन्य कारण तर्फ ध्यान नदिदाँ दुर्घटनाको खास कारण बुझ्न सकिएको छैन । अनि कतिपयले भने यसलाई ‘भगवानको कार्य’को रुपमा लिन्छन् । यसकै पछिल्लो स्वरुप नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अलच्छिनको भएकोले दुर्घटना बढेको सार्वजनिक अभिव्यक्ति दिए ।

यसरी गलत बुझाई राख्दा दुर्घटनाको दर घटाउन सकिएको छैन । एउटा ‘एजेण्ट’ अर्थात कर्तालाई नै सबै दोष थोपरेर वा भगवान वा अदृश्य तत्वलाई कारण देखाएर अरु वास्तविक कारकहरु पानीमाथिको ओभानो बन्ने प्रयास गरिरहेका छन् । यसरी एउटा चालक र अदृश्य शक्तिलाई कारण मानेर त्यसै अनुसार दुर्घटनालाई कम गर्नको लागि गरिने प्रयास खासमा बेकामे छन् ।

सडक दुर्घटनाको दर र दायरा बढ्दै जानुमा सामाजिक कारणहरु जबरजस्त रुपमा रहेका छन् । त्यस्ता सामाजिक संरचनात्मक कारणलाई नबुझिकन वास्तविकताको नजिक पुग्न सकिदैन ।

सडक दुर्घटनाको घटनाहरुलाई मिहिन रुपमा हेर्ने हो भने कर्ता अर्थात सवारी चालकको भन्दापनि संरचनात्मक कारणहरु बढि जिम्मेवार र महत्वपूर्ण रहेका देखिन्छन् । दुर्घटनाका बारेमा प्राप्त भएका तथ्यांक तथा घटनाहरुलाई मिहिन विश्लेषण गर्ने हो भने सबैभन्दा धेरै दुर्घटना सुदुर तथा मध्यपश्चिम विकास क्षेत्रमा भएको देखिन्छ । पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रमा दुर्घटना बढी हुनुमा यातायात क्षेत्रमा रहेको सिन्डिकेटको मुख्य हात रहेको छ ।

प्रहरी प्रशासनभित्रको भ्रष्टाचारी र घुसखोरी शैलीले थोत्रा र क्षमताभन्दा दोब्बर यात्रु बोकेका गाडी निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । घुम्ती र चोकमा रहेका प्रहरी विट तथा ट्राफिक कार्यालयका प्रहरीलाई घुस दिएर यस्ता गाडी सञ्चालन भईरहेका छन् । जसलाई थोरै रकम घुस पाएका ट्राफिक तथा प्रहरीले देखेको नदेख्यै गरिरहेका छन् । परिणामतः सडक दुर्घटना बढीरहेको छ ।

पूर्वी क्षेत्रमा सिन्डिकेटको समस्या छदै छैन । भए पनि निकै कम छ । तर सुदुरपश्चिम तथा मध्यपश्चिम विकास क्षेत्रमा सिन्डिकेटको समस्या निकै बढी छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६८ मा ‘स्वच्छ प्रतिष्पर्धात्मक ढंगबाट यातायात व्यवसायको विकास गर्न सार्वजनिक सवारीलाई चक्रिय प्रणाली अन्र्तगत सेवा सञ्चालन गर्ने गरी इजाजत पत्र प्रदान गरिने छैन’ भन्ने व्यवस्था गरिएको छ । यो ऐन लागू भएको दुई दशक वितिसक्दा पनि यो प्रावधानको व्यवहारिक कार्यान्वयन हुन नसक्दा दिनदिनै दुर्घटना बढिरहेका छन् ।

सिन्डिकेटले दुई किसिमबाट सडक दुर्घटनालाई बढाईरहेको छ । पहिलो सिन्डिकेटमा रहेका बसहरु निकै थोत्रा छन् । उकालोमा नतान्ने र ओरालोमा नथाम्ने थोत्रा गाडीहरु सञ्चालन हुदाँ दुर्घटना बढीरहेका छन् । सामान्य ब्रेक, गेयर, एक्सिलेटर पनि कन्डिसनमा नरहेका यस्ता गाडीहरुकै कारण दुर्घटना बढेको हो ।

दोस्रो भनेको सिन्डिकेटवालाहरुले प्रतिष्पर्धालाई निरुत्साहित गरेका छन् । अनि आफ्नो मनखुसीले आवश्यकता भन्दा निकै थोरै गाडीहरु महँगो भाडा लिएर चलाउने गर्दछन् । उसै त थोत्रा गाडी त्यसमा पनि क्षमता भन्दा दोब्बर भन्दाबढी यात्रु बोकेर सञ्चालन हुदाँ दुर्घटनाको मात्रा निकै बढेको छ ।

दोस्रो कारण भनेको विकासको गलत अभ्यासले पनि सडक दुर्घटनालाई बढाईरहेको छ । मध्यपश्चिम र सुदुरपश्चिमविकास क्षेत्रमा विकासका गतिविधिहरु भर्खरै सुरु भएका छन् । सडक सञ्जाल विस्तारको काम भर्खरै अगाडी बढिरहेको छ । यसरी सडक सञ्जाल विस्तार गर्दा कुनै प्राविधिक तथा ईन्जिनियरिङ मापदण्ड नै पुरा नगरिकन राजनीतिक दलका स्थानीय नेताहरु तथा टाठाबाठाहरुको लहड र दबाबमा सडक खनिएका छन् । यस्ता सडकहरु इन्जिनियरिंङ दृष्टिकोणले उपयुक्त र सुरक्षित छैनन् । सडक खन्न डोजरको प्रयोग गरिएको छ । डोजर चालकले जताजता चाह्यो त्यतै त्यतै बाटो खन्ने प्रवत्ति झाँगिदै जादाँ दुर्घटनाको मात्रापनि बढ्दै गईरहेको छ । यसैगरी सडकको स्तर उन्नतिको लागि काम अहिले पनि हुन सकेको छैन । नयाँ नेपालको नारा र विकासे प्रक्रिया काठमाडौ उपत्यकामात्र सिमित छ । दुर्गम जिल्लाका बाटोको स्तर उन्नति गर्ने तथा त्यसलाई प्राविधिक दृष्टिकोणले उपयुक्त बनाउने काम गर्न नसक्दा डोजरले खनेका सडक यमलोक जाने मार्ग बनेका छन् ।

तेस्रो कारण भनेको सडकको गुणस्तरसँग जोडिएको छ । एक अध्ययनअनुसार नेपालको कुल ६६ हजार ४ सय किलोमिटर ग्रामीण सडक मध्ये करिब ४२ हजार किलोमिटर सडक गाडी चलाउन अयोग्य रहेको छ । सानो टाटा सुमो जस्ता गाडी समेत चलाउन अयोग्य रहेका सडकमा बस तथा मिनिबसहरु निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । भर्खरै ट्रयाक खुलेका, अर्को गाडीलाई साइड दिन समेत ठाउँ नभएका, बाटोको छेउमा पर्खाल समेत नबनाईएका सडकमा निर्वाध रुपमा गाडी सञ्चालनको लागि रुट परमिट दिदाँ दुर्घटना बढिरहेका छन् ।

चौथो कारण भनेको यातायात क्षेत्रमा झाँगिदै गएको भ्रष्टाचार हो । यातायात क्षेत्रमा भ्रष्टाचार बढ्दै गईरहेको छ र यहि भ्रष्टाचार दुर्घटनाको एक प्रमुख कारण बनिरहेको छ । यातायात सञ्चालनमा लाईसेन्स दिने क्रममा भ्रष्टाचार हुने गर्दछ । यही भ्रष्टाचारको कारण सवारी तथा यातायात व्यवस्था ऐनले गरेका व्यवस्थाहरुलाई समेत वेवास्ता गर्दै यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले सिन्डिकेटवालाहरुले चाहे र भने अनुसारको मात्र गाडीलाई अनुमती दिदै आएका छन् । यसैगरी, सवारी अनुमतीपत्र लिने क्रममा पनि भ्रष्टाचारका कारण ट्रायल पासै नगरेका भर्खरका किशोर तथा युवालाई सवारी चालकको अनुमतीपत्र दिईरहेको छ । यसले राम्रोसँग गाडी चलाउन समेत नजान्ने व्यक्तिले सवारी अनुमतीपत्र पाएका छन् र कच्ची तथा कमजोर गुणस्तरको सडकमा गाडी चलाईरहेका छन् । यसैगरी, प्रहरी प्रशासनभित्रको भ्रष्टाचारी र घुसखोरी शैलीले थोत्रा र क्षमताभन्दा दोब्बर यात्रु बोकेका गाडी निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । घुम्ती र चोकमा रहेका प्रहरी विट तथा ट्राफिक कार्यालयका प्रहरीलाई घुस दिएर यस्ता गाडी सञ्चालन भईरहेका छन् । जसलाई थोरै रकम घुस पाएका ट्राफिक तथा प्रहरीले देखेको नदेख्यै गरिरहेका छन् । परिणामतः सडक दुर्घटना बढीरहेको छ ।

छैटौ कारण भनेको मानबीय कमजोरी अर्थात चालकको लापरबाही हो । भर्खरका १८/२० वर्षका किशोरलाई ठुला सार्वजनिक यातायातका साधनहरु चलाउने इजाजतपत्र दिदाँ त्यसले थप दुर्घटना बढाईरहेको छ । यसैगरी गाडीका सहयोगीलाई चलाउन दिने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, मोबाईलमा कुरा गर्दै स्पिडमा सवारी चलाउने जस्ता मानवीय कारणले पनि दुर्घटनाको दर र दायरा नियमित रुपमा बढाउँदै गएको छ ।

अहिलेसम्म जति पनि सवारी दुर्घटना बढिरहेको छ यसको खास कारण सवारी चालकको लापरबाही मात्र सम्पूर्ण होईन । न त यो भगवान रिसाएरै हुने हो । दुर्घटनामा कर्ता अर्थात सवारी चालक र उनीहरुको लापरवाही मात्र दोषी र जिम्मेवार छैन । बरु दिनदिनै बढ्दै गईरहेको दुर्घटनाको खास सामाजिक संरचनात्मक कारणहरु रहेका छन् । अहिलेसम्म सरकारले गठन गरेका छानविन समितिले दिएका प्रवितेदनले सवारी चालकको लापरवाहीलाई मात्र प्रमुख कारण मानिदै आईएको छ । यो दृष्टिकोण आफैमा साँघुरो र गलत छ । त्यसैले दुर्घटनाका सामाजिक कारणहरुलाई थप विस्तृत रुपमा अध्ययन गरी त्यसको समाधान गर्न सकेमा मात्र यसलाई न्युनिकरण गर्न सकिन्छ । [email protected]