म्याग्दीमा महिलाले मोटरबाटो निर्माण गरे



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ ।

जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् ।

घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् ।

एक महिनासम्म ६० जनाभन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताइन् । एक जनाले १ लाख रुपैयाँ बराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिइन् ।

मोटरबाटो निर्माण भएपछि घारका २०० घरधुरी लाभान्वित भएका छन् । अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्न सक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् ।


क्लिकमान्डु