आयात–निर्यात सरलिकृत बनाउन समुद्रपार निकासी पैठारी संघकाे माग



काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारसँग आयात निर्यातलाई सरल बनाउन माग गरेको छ । संघका अध्यक्ष हिमबहादुर रावलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालसँग भेट गर्दै राजस्वक्षेत्रको विभिन्न विषयमा छलफल गरेको छ ।

छलफलमा अध्यक्ष रावलले सरकारले लागू गर्न लागेको आयात–निर्यात कोड (एक्जिम कोड) को व्यवस्थालाई स्वागतयोग्य कदम भन्दै कोड लागू भएपछि भन्सार कर्मचारीले व्यवसायीप्रति सहयोगी भूमिका खेल्नेमा आशावादी रहेको बताए ।

अध्यक्ष रावलले कोड लागू भएपछि आयातका प्रक्रियाहरु सरल बनाउन, एलसी बाहेकको आयातमा हरेकपटक वाणिज्य काउन्सिलर कलकत्ताको लागि वाणिज्य विभागबाट अनुमति लिनुपर्ने व्यवस्था र हाल वाणिज्यमा एलसी बाहेकका डकुमेन्टमा प्रत्येक डकुमेन्टपछि दाखिला गनुपर्ने कागजात र सोमा लाग्ने शुल्क खारेज गर्नुपर्ने माग गरे ।

आयात–निर्यात कोड लिइसकेको व्यापारिक फर्मले आयात गरेको सामान भन्सारबाट जाँचपास भइसकेपछि सो सामान बोकेको कन्टेनर कसैले चेकजाँच गर्न नपाउने व्यवस्था गर्नुपर्ने संघको माग थियो ।

साथै ख्यातिप्राप्त कम्पनीले नेपालका लागि आधिकारिक वितरक नियुक्त गरेको अवस्थामा सो सामान सोही कम्पनीबाहेक अन्यत्रबाट आयात गर्न दिन नहुने जोड दिँदै संघले कतिपय ब्रान्डेड सामान नक्कली आयात भइरहेकोले उक्त व्यवस्था आवश्यक रहेको जिकिर गरेको छ ।

त्यसैगरि सचिव खनालले सो कोड लिएपछि एउटा कम्पनीबाट एकपल्ट सामान आयात गरेपछि त्यो कम्पनी नै छाडेर अर्को खोल्ने लगायत व्यापारिक क्षेत्रका विकृति न्यूनीकरणमासघाउ पुर्याउने बताए । आयात–निर्यात कोड अनिवार्य गरेपछि वास्तविक व्यापारी मात्रै बजारमा रहने हुँदा नियमन गर्न पनि सजिलो हुने उनको भनाई थियो ।

प्रतिनिधिमण्डलमा उपाध्यक्ष विनोदकुमार सेठिया, महासचिव शिवकुमार अग्रवाल, सचिवद्वय अनिलकुमार अग्रवाल र सुशिल गुप्ता, कोषाध्यक्ष कुमार कार्की र कार्यसमिति सदस्यहरु खगेन्द्र सिटौला, आकाश गोल्छा, गौरव शारडा, रामचन्द्र खेतान, गोविन्द संघई र मदन मित्तल सहभागी थिए ।


क्लिकमान्डु