८० बोका र १३ गोरुको बन्ध्याकरण गर्दै पशु स्वास्थ्य शिविर सम्पन्न



पाल्पा । कोलडाँडा गाविस पाल्पामा सञ्चालन भएको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट तीनहजार एकसय २८ पशुको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ ।

जिल्लाकै दुर्गम र विकटमा पर्ने कोलडाँडाका वडा नं ४, ७, ८ र ९ का किसानले घरमा पालेका गाई, भैँसी, बाख्रा, गोरु, बङ्गुर, कुखुराको स्वास्थ्य परीक्षण गराई निःशुल्क उपचार सुविधा लिएका छन् ।

सोमबार चलेको शिविरमा सातसय बाख्रा, ६ सय ६२ गाई र गोरु, ९९ भैँसी, ८९ बङ्गुर, सातसय पाँच कुखुराको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । शिविरमा सातसय बाख्रामा पिपिआरविरुद्ध खोप, ८० बोका र १३ गोरुमा बन्ध्याकरण सेवा प्रदान गरिएको पशु सेवा केन्द्र मदनपोखराका पशु स्वास्थ्य प्राविधिक शेरबहादुर रानाले जानकारी दिए ।

जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सञ्चालित शिविरमा पशुको स्वास्थ्य परीक्षण गरिनुका साथै परजीवीसम्बन्धी औषधि, मिनरल, भिटामिन गरी ८० हजार रुपैयाँ बराबरको औषधि किसानलाई निःशुल्क वितरण गरिएको छ । शिविरमा जिल्ला पशु सेवा कार्यालयमा पशु चिकित्सक उत्तम आचार्यसहित ६ जना पशु स्वास्थ्य प्राविधिकको टोलीले सेवा दिएका हुन् ।

यस क्षेत्रका ७३ घरधुरीका किसान यहाँ चलेको पशु स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन् । यहाँका किसानलाई पशुको स्वास्थ्य उपचार तथा परीक्षणका लागि पशु सेवा केन्द्र मदनपोखरामा ४ घन्टादेखि ५ घन्टाको बाटो पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।

गाउँघरमै निःशुल्क सेवा तथा पशुको उपचार गर्न पाउँदा निकै खुसी लागेको कोलडाँडा–८ का अगुवा किसान चन्द्रा आलेले बताउनुभयो । व्यावसायिक रुपमा बाख्रा पाल्दै आउनुभएकी आलेले बाख्रा बिरामी परे औषधि उपचारका लागि एक दिनको समय बिताएर सेवा केन्द्रमा जाने गरेको बताए ।

गाउँमा नै चलेको शिविरबाट धेरै सेवासुविधा लिन पाएको अर्का अगुवा किसान रुपा आले बताउँछिन् । उनी भन्छिन्,’नजिक सेवा केन्द्र नहुँदा पशु बिरामी परेमा पनि झट्ट उपचार गर्न नपाउँदा अकालमै मृत्यु हुने गरेको छ ।’

कार्यालयले भूकम्प प्रभावित र दुर्गमका किसानलाई लक्षित गरेर सञ्चालन गरेको यस शिविरबाट यहाँका किसानलाई ठूलो राहत मिलेको कार्यालयका पशु चिकित्सक आचार्यको भनाइ छ ।

 


क्लिकमान्डु