निजी लगानी बढाउन विश्व बैंकको सुझाव




काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले निजी लगानी बढाउन नेपाललाई सुझाव दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक हडियान्तोले भेट गर्दै लगानी आकर्षण गर्नको लागि निजी लगानीलाई प्राथमिकता दिन जोड दिएका हुन् ।

भेटका नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैंकको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय चुनावपछि राजनीतिक स्थितिमा सुधार आउने र देश आर्थिक विकासमा अगाडि बढ्ने बताए । उनले चौधौँ योजना कार्यान्वयनका क्रममा रहेको र सन् २०३० सम्मका लागि दीर्घकालीन योजना तयार पारेको उल्लेख गरे ।
निर्देशक डा एन्डिनले नेपालको वर्तमान आर्थिक अवस्था, योजना आयोगको भूमिकालगायतका विषयमा चासो व्यक्त गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रको लगानीको सुरक्षाको सुनिश्चितता गर्दै निजी क्षेत्रको भूमिका बढाउनुपर्ने बताए ।


क्लिकमान्डु