सडक नखोल्दा १२ किमी हिँड्न बाध्य लुमगाउँबासी



जुम्ला । वर्षौंदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँका स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् ।

विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति र यहाँका दलसँग पटकपटक धाए, तथापि सडक खोल्ने उनीहरुको प्रयास सफल हुन सकेन । लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर दुरी मात्र छ, तर त्यही बाम्नेमाडु जान हामीले १२ हजार मिटर हिँड्नु पर्छ, स्थानीय रामबल बुढाले दुखेसो गरे । अहिले लुम–बिगारे–फुटासिली–बुडुगाउँ हुँदै बाम्नेमाडु जान बाध्य भएको बूढाले बताए।

‘लुमगाउँ मुगु नजिक भएकाले मुगुका सांसद् मोहन बानियाँलाई बाटो खोल्दिन गुहार मागे, तर त्यसमा विराट गाविस बुडुगाउँका जनताले अवरोध गर्दा उपाय लागेन,’ उनले भने । यो वर्ष मात्रै जिविस जुम्लामा १६ पटक धाएको उनको भनाइ थियो ।

लुमगाउँकै स्थानीय भीमबहादुर बूढाले लुमवासी वर्षौंदेखि सडक, विद्युत्, सञ्चार, स्वास्थ्यको सहज पहुँचमा नरहेको बताए । जनक बूढाले सिंजा भेकमा अवस्थित ११ गाविसमध्येको धार्मिक र ऐतिहासिक महत्व बोकेको कनकासुन्दरी लुमगाउँका ८५ घरधुरीका ८०० घरपरिवारले विकासको वास्तविक स्वाद चाख्न नभएको गुनासो गरे ।  उनले कनकासुन्दरी माईको मन्दिर संरक्षणमा राज्यले बेवास्ता गर्दा यसको इतिहास मेटिदै गएको विचार व्यक्त गरे।

स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले यो वर्ष जसरी भए पनि लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर बाटो खोलेर सो गाउँका समुदायको न्याय गर्ने बताए ।

यसअघि पनि जिविसले सो बाटोको निम्ति केही बजेट छुट्याए पनि काम अपुरो भएकाले त्यसलाई यस वर्ष पूर्णता दिने स्थानीय विकास अधिकारी बेल्बासेको भनाइ छ ।


क्लिकमान्डु