राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि



कञ्चनपुर, २९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा ७२ वर्षिय पिता खेमलाल गौतमले दागबत्ती दिए ।  गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए ।

यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो ।  शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । शव गौतमको गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो ।

नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए । रासस


क्लिकमान्डु