प्रचण्डले भने- अबको चुनाबमा राजनीतिक फोहोर पनि सफा गर्नुपर्छ




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचन मार्फत राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन् ।

वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा आज शंखमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उनले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेको बताए ।

‘वाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै जुटेका छन्, यस अवसरमा सरकारले जारी गरेको सफाइ घोषणापत्र र सपथ कार्यान्वयन गर्न सबै सहयोग गरिनेछ’- प्रधानमन्त्री दाहालले भने ।

सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सञ्चालन गरिने उनको भनाइ थियो । वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्दै विद्यालय लगायत सार्वजनिक स्थलमा साप्ताहिक रुपमा सफा गरिने बताए । वाग्मती सफाइ अभियन्ता डा राजु अधिकारीले सफाइका लागि मन, संस्कार र प्रवृत्तिमा परिवर्तन गरिनुपर्ने बताए ।

गायिका आनी छोइङ डोल्माले सफाइमा सबै समुदायको सहभागिता हुनुपर्नेमा जोड दिइन् । २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान आज २०० औँ हप्ता प्रवेश गरेका अवसरमा सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहित सफाइ गरिएको थियो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सरकारका उच्च पदस्थ अधिकृत, समाजसेवी, पत्रकारको सहभागिता थियो । रासस


क्लिकमान्डु