आइफोन ढिलो चार्ज हुने समस्या छ ? यी हुन् फास्ट चार्ज गर्ने उपायहरु



 

काठमाडौं । तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँलाई सँधै फोनको चार्ज छिटो सकिएको चिन्ता हुने गर्दछ । अन्य स्मार्टफोनहरु मध्ये आइफोनको चार्ज छिटो सकिने समस्या सबै आइफोन प्रयोगकर्ताहरुले भोगीरहेका छन् ।

तर आइफोनलाई यसको सामान्य गतिको भन्दा छिटो चार्ज गर्ने केहि उपायहरु छन जसले तपाईँले आफ्नो फोन छिटो चार्ज गर्न सक्नुहुनेछ ।
यहाँ हामी तपाईँले प्रयोग गरिरहनुभएको आइफोन कसरी छिटो चार्ज गर्न सकिन्छ भनेर जानकारी दिने प्रयासमा छौं ।

एन्ड्रोयड स्मार्टफोनहरुमा फास्ट चार्जिंग फिचर राखिएको हुँदा प्रिमियम र मिडियम रेन्जका एन्ड्रोयड फोनहरुमा चार्जिंगको समस्या निकै कम देखिन्छ । अझ कतिपय स्मार्टफोनहरु त ३० मिनेट चार्ज गरेर दिनभरी चलाउन सकिने प्रविधिसहित उपलब्ध छन । तर एप्पलको आइफोनमा भने फास्ट चार्जिंगको सुविधा छैन् ।

त्यसैले आफ्नो आइफोन छिटो चार्ज गर्ने केहि सामान्य तरिका पालन गर्न सकिन्छ ।

आइप्याडको एडप्टर प्रयोग

यसमध्ये पहिलो उपाय भनेको तपाईँको आइफोन चार्ज गर्न तपाईँले आइप्याडको पावर एडप्टर प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईँको आइफोनसँग आउने एडप्टरको साटो आइप्याडको एडप्टर प्रयोग गरेर फोन चार्ज गर्न सकिन्छ ।

एप्पलले दिने सपोर्ट डकुमेन्टमा १२ वाटको पावर एडप्टर अन्य एप्पल डिभाइसहरुसँग प्रयोग गर्न सकिने उल्लेख छ, जसमा आइफोन, एप्पल वाच तथा अन्य एसेसरिजहरु समावेश छन् । जसले यी डिभाइसहरुलाई फास्ट चार्ज गर्न सहयोग गर्दछ ।

सामान्यतया आइफोन सेभेनको चार्जरले करिब ३ घण्टामा आइफोन पुरा चार्ज गर्दछ भने आइप्याडको एडप्टरले करिब २ घण्टामा नै आइफोन पुरा चार्ज गर्दछ ।

यदि तपाईँसग आइप्याडको चार्जर छैन भने तपाईँले एप्पलको आधिकारिक आइप्याड चार्जर किन्न सक्नुहुनेछ । अथवा तपाईँले यो सँग कम्प्याटिबल हुने अन्य चार्जर पनि किन्न सक्नुहुन्छ ।

एयरप्लेन मोड

अझ यो भन्दा अर्को सहज उपाय झनै सहज र सजिलो छ । यो उपाय भनेको तपाईँको आइफोनमा रहेको अप्सनलाई प्रयोग गर्नु हो । यो अप्सन फोनमा हुने एयरप्लेन मोड हो । यदि तपाईँले आफ्नो आइफोन चार्ज गर्दा फोनलाई एयरप्लेन मोड वा फ्लाईट मोडमा लानुभयो भने तपाईँको फोन छिटो चार्ज हुन्छ । यसले फोन चार्ज गर्ने समयलाई पनि घटाउँछ ।

एयरप्लेन मोड खोल्नका लागि तपाईँ पहिले आइफोनको लक वा होम स्क्रीनमा तल्लो भागबाट हातले स्वाइप गर्नुपर्छ ।
त्यसपछि दायाँ भागमा रहेको एयरप्लेनको आइकनमा ट्याप गर्नुपर्छ ।

यो आइकनमा ट्याप गरेपछि आइफोनको स्क्रीनको दायाँ भागको माथिल्लो भागमा एयरप्लेनको चित्र देखिन्छ ।

यसको लागि तपाईँले सेटिंगबाट एयरप्लेन मोडमा पनि जान सक्नुहुन्छ ।

तर एयरप्लेन मोड खोलिसकेपछि भने तपाईँले फोन कल, म्यासेज रिसिभ गर्न वा कल गर्न सक्नुहुन्न।

जे भएपनि तपाईँले आइफोन छिटो चार्ज गर्न सक्नुहुन्छ ।


क्लिकमान्डु